पूर्व गृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेलाई सहकारी ठगी, संगठित अपराध तथा सम्पत्ति शुद्धीकरणको मुद्दामा अदालतले धरौटीमा छाड्न आदेश गरेको छ । जिल्ला अदालत कास्कीले बिहीबार थुनछेक बहसपछि लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो । जिल्ला न्यायाधीश नीतिज राईको इजलासले पोखरास्थित सूर्यदर्शन सहकारीको रकम हिनामिना प्रकरणमा लामिछानेलाई ६५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो ।
जिल्ला सरकारी वकिल कार्यालयले लामिछानेलगायत ४४ जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।
गत २ कात्तिकमा लामिछाने काठमाडौंबाट पक्राउ परेका थिए । यसयता उनी लगातार कास्की प्रहरीको हिरासतमा थिए । अब भने उनी धरौटी बुझाएर थुनामुक्त हुने भएका हुन् । मुद्दा जिल्ला अदालतमा दर्ता भएसँगै प्रतिनिधिसभा सदस्यको उनको पद निलम्बित भइसकेको छ ।
लामिछानेलगायतविरुद्ध काठमाडौंको स्वर्णलक्ष्मी सहकारीमा अपचलन गरेको विषयमा पनि जिल्ला अदालत काठमाडौंमा पनि मुद्दा दायर गरेको छ । लामिछाने थुनामुक्त गएसँगै उनकै नेतृत्वमा रहेको रास्वपाले अब कस्तो निर्णय लिन्छ भन्ने चासो छ । रास्वपामा अहिले डीबी अर्याल कार्यबाहक सभापति छन् । रास्वपाले लामिछानेपछि संसदीय दलको नेता भने चयन गरिसकेको छैन् ।
टेलिभिजन कार्यक्रमबाट चर्चित भएपछि लामिछाने राजनीतिमा हाम्फालेका थिए । र पार्टी स्थापना भएको केही महिनामै भएको आमचुनावमा अप्रत्यासित रूपमा राष्ट्रिय पार्टी मात्र भएन प्रतिनिधिसभामा २१ सिटसहित चौथो ठूलो दल पनि बन्यो । र लामिछाने आमचुनावपछिको पहिलो सरकारमा उपप्रधानमन्त्रीसहित गृहमन्त्री बनेका थिए ।