आज बिहान चीनमा गएको भूकम्पबाट कम्तीमा नौ जनाको मृत्यु भएको छ ।
साथै भूकम्पबाट केही घरमा क्षति पुगेको चिनियाँ सञ्चारमाध्यमहरूले जनाएका छन् ।
चीनको तिब्बत केन्द्रविन्दु भएर मंगलबार बिहान शक्तिशाली भूकम्प गएको थियो ।
पूर्वी हिमाली जिल्लाहरू दोलखा, सोलुखुम्बु, संखुवासभा र ताप्लेजुङनजिकै पर्ने दिङ्गे काउन्टी केन्द्रविन्दु भएर ७.० म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
यद्यपि, यसको नेपाल आइपुग्दाको शक्ति भने ५.३ म्याग्निच्युडको मात्र रहेको पाइएको छ ।
मंगलबार बिहान ६ बजेर ५० मिनेट जाँदा आएको भूकम्पले पूर्वी क्षेत्रमा बढी हल्लाएको थियो ।
साथै काठमाडौंलगायत मध्य क्षेत्रमा पनि भूकम्पको झड्का राम्रैगरी महसुस भएको थियो ।
काठमाडौंमा केही समयसम्म भूकम्पको कम्पन रहेको थियो । यसले गर्दा काठमाडौं निवासी सडकमा निस्किए भने चराहरू उडेका थिए ।
साथै धादिङ, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक मकवानपुर, बारालगायत जिल्लामा समेत भूकम्पको धक्का महसुस गरिएको थियो ।
भूकम्पको महसुस भारत, भुटान र बंगलादेशमा पनि भएको थियो ।
भूकम्पबाट नेपालमा भने कुनै मानवीय र अन्य क्षति नभएको सरकारले जनाएको छ ।