मौसम पूर्वानुमान महाशाखाले पश्चिमी वायु र पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आज साँझदेखि मुलुकका धेरै स्थानमा हिमपात र वर्षा हुने जनाएको छ । साँझदेखि मुलुकका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना रहेको जनाएको हो ।
विभागले उक्त प्रणालीका कारण शुक्रबार अपराह्नदेखि शनिबारसम्म सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका अधिकांश स्थान तथा गण्डकी, बागमती र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको जनाएको छ ।
यस्तै, सुदूरपश्चिम र कर्णाली प्रदेशका धेरै स्थान र लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम तथा गण्डकी, बागमती, मधेस र कोशी प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको विभागको भनाइ छ । मौसम प्रणालीको असरका कारण तापक्रम घट्न गई चिसो बढ्न सक्ने समेत सम्भावना रहेको विभागले जनाएको छ ।
शनिबार पनि देशका अधिकांश स्थानमा हल्लका वर्षाको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली भू-भागमा हल्कादेखि मध्यम हिमपात हुनेछ । आइतबार देखि मौसममा क्रमिक सुधार आउने बताइएको छ ।