नेपाल टेलिकमको नाम र लोगो दुरुपयोग गर्दै सामाजिक सञ्जालमा स्पाम फैलिरहेको पाइएको छ । ‘नेपाल टेलिकम – क्रिसमस गिफ्ट’ नाम दिएर पुरस्कार दिने दाबी गर्दै स्पाम लिङ्क फैलिरहेको पाइएको हो ।
सञ्जालमा फैलिरहेको स्पामको डोमेन नेम पनि अर्कै रहेको छ । सुरक्षित तरिकाले लिङ्क खोलेर हेर्दा प्रश्नको उत्तर दिएर पाँच हजार रुपैयाँ जित्न सकिने दाबी गरिएको छ । यससँगै विश्वासिलो बनाउन अन्य प्रयोगकर्ताले पुरस्कार पाएको भनेर लेखिएको छ ।
नेपाल टेलिकमका प्रवक्ता हरि ढकालका अनुसार कम्पनीले अहिले कुनै पनि प्रकारको क्रिसमस योजना ल्याएको छैन । उनले उक्त काम भ्रामक र गलत भएको स्पष्ट पारे । टेलिकमका योजना र अफरबारे जानकारी लिन कम्पनीको आधिकारिक सामाजिक सञ्जाल अकाउन्ट तथा वेबसाइटको सहयोग लिन उनले अनुरोध गरे ।
साइबर जानकारका अनुसार यस्ता शङ्कास्पद लिङ्कमा मालवेयर तथा भाइरस हुनसक्ने सम्भावना हुन्छ । जसमा क्लिक गर्दा प्रयोगकर्ताहरूको सम्पूर्ण जानकारी ह्याकरले पहुँच पाउन सक्ने समेत बताईएको छ ।