कन्याम पोस्ट संवाददाता ।
ईलामको फाकफोकथुम गाउँपालिका ७ स्थित (एकतप्पा) दोकान डाँडामा जारी शुभ दीपावली फुटबल प्रतियोगितामा सोमबार भएको दुई खेलबाट जुनतारा एफसी माङसेबुङ र लिटल स्टार एफसी दमक विजयी बन्दै क्वाटर फाईनलमा प्रबेश गरेका छन् ।
पहिलो खेलमा माङसेबुङले स्पर्धी देउमाई नगरपालिकाको साब्जुङ एफसीलाई पराजित गर्दै क्वाटरफाइनल खेलमा प्रवेश गरेको हो । माङसेबुङका लागि कप्तान मनु लिम्बूले गरेको गोल नै निर्णायक बन्न पुग्यो ।
खेलको ४२औँ मिनेटमा पाएको फ्रिकिकमार्फत उनले गोल गरेका हुन् । मैदानको मध्य भागबाट गरेका प्रहार गोलमा परिणत भएको थियो । उनी म्यान अफ दी म्याच बने ।
यस्तै, दोस्रो खेलमा दमकले पाँचथरको न्यू स्टार एफसी चिलिङदिनलाई २-० गोलअन्तरमा पराजित गरेको हो । उसका लागि निमा तामाङले नै दुवै गोल गरेका हुन् ।
फाकफोकथुम ६ नम्बर वडा खेलकुद विकास समितिले आयोजना गरेको प्रतियोगितामा १६ वटा टिम सहभागी रहेको यस प्रतियोगिताको विजेताले नगद
१ लाख २५ हजार र उपविजेताले नगद ६५ हजारसहित ट्रफि, मेडल र प्रमाणपत्र पाउनेछन् । त्यस्तै विधागततर्फ उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर, सर्वाधिक गोलकर्ताले नगद २ हजार र ट्रफि पाउनेछन् । प्रत्येक खेलको उत्कृष्ट खेलाडीले नगद १ हजार प्राप्त गर्नेछन् ।
जारी प्रतियोगिताको फाइनल खेल स्थानीय जनकल्याण माध्यमिक विद्यालयको खेलमैदानमा यहि २५ कात्तिकमा हुनेछ ।