सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले समाचार लेखेकै आधारमा सामाजिक सञ्जालको म्यासेञ्जरमा धम्की दिने कार्य अपराध भएको बताउदै त्यसरी धम्की दिने व्यक्तिलाई तत्काल कानुनी कारबाही गरिने बताएका छन् ।
समाचार को बिषयमा पछिल्ला दिनमा ‘हिमाल खबर’का पत्रकार गोपाल दाहाल र उनको समाचार शेयर गरेको निहुँमा पत्रकार महासङ्घ सुनसरीका सभापति जनकऋषि राईलाई पछिल्लो समय व्यक्तिगत म्यासेञ्जरमा धम्की आइरहेको छ ।
प्रजिअ तिवारीसँग शुक्रवार इनरुवा स्थित जिल्ला प्रशासन कार्यालय पुगेर पत्रकार महासङ्घ सुनसरीको टोलीले पत्रकारको सुरक्षा र स्वतन्त्र पत्रकारिता गर्ने वातावरण सिर्जना गर्न आग्रह गरेका थिए ।
सामाजिक सञ्जालको दुरुपयोग बढेकोले फेक आइडी बनाएर अभद्र टिका टिप्पणी गर्ने प्रवृत्ति प्रोत्साहित भएको देखिएको बताए । उनले भने ‘तर व्यक्तिगत रूपमा म्यासेञ्जरबाट धम्की दिने कार्य अपराध हो, त्यसरी धम्की दिनेलाई तत्काल अनुसन्धान गरी कारबाही हुन्छ ।’
धरानका नगर प्रमुख हर्क साम्पाङबाट धम्कीपूर्ण भाषामा गालीगलौज गरेको विवाद बढेपछि पछिल्लो समय उनका अनुयायीहरूले पत्रकार दाहाललाई व्यक्तिगत म्यासेञ्जरमा धम्की दिने गरेको बारेमा प्रशासनको ध्यानाकर्षण गराउन पत्रकार महासङ्घको टोली जिल्ला प्रशासन कार्यालय पुगेको हो ।
समाचार लेखेकै आधारमा पत्रकारलाई धम्कीपूर्ण गाली गलौज गरिएको बारेमा पत्रकार महासङ्घले गृहमन्त्री रमेश लेखकलाई ध्यानाकर्षण पत्र बुझाइसकेका छन् । इलाका प्रहरी कार्यालयमा गाली गलौजबाट पत्रकार असुरक्षा उत्पन्न हुनसक्ने भएकाले शान्ति सुरक्षा गरिपाऊँ भनी जाहेरी दिएका छन् ।
यसअघि पत्रकार महासङ्घ र प्रेस युनियन सुनसरीको टोलीले इनरुवाका क्रियाशील पत्रकार राजन निरौलाको असामयिक निधन भएकोमा उनको शोक सन्तप्त परिवारमा समवेदना पत्र अर्पण गरेको थियो ।