भीम विराग सङ्गीत, साहित्य, कला प्रतिष्ठान नेपालले यस वर्षको बिजुलीमाया वनः श्रेष्ठ अन्तर्राष्ट्रिय सङ्गीत पुरस्कार गीतकार नीर शाहलाई प्रदान गर्ने भएको छ। प्रतिष्ठानको १६औँ संस्करणअन्तर्गत यो पुरस्कार नेपाली गीत लेखनमा पाँच दशकदेखि निरन्तर सक्रिय शाहलाई प्रदान गरिने आयोजकले जनाएको छ।
शाहले २०३२ सालदेखि नेपाली गीत लेखनमा समर्पित रहँदै चलचित्र निर्माण, निर्देशन, र अभिनयमा समेत सक्रिय योगदान दिएका छन्। उनले चन्द्रराज शर्मा, सिके रसाइली, नारायणगोपाल, रञ्जित गजमेर, शम्भुजित बाँस्कोटा, मनोहर पाण्डे, प्रकाश श्रेष्ठ, दीपक खरेल, अञ्जु पन्त, मीरा राणा, र उदित नारायण झा जस्ता चर्चित गायन तथा सङ्गीतका हस्तीसँग सहकार्य गरेका छन्।
प्रतिष्ठानका महासचिव छवि अनित्यका अनुसार शाहको योगदानलाई सम्मान गर्दै यो पुरस्कार प्रदान गर्न लागिएको हो।
पुरस्कारको मिति र अन्य कार्यक्रमबारे थप विवरण चाँडै सार्वजनिक गरिने जनाइएको छ।