जुम्लाको पातारासी गाउँपालिकाले उमेर पुगी विवाह गर्ने जोडीलाई बधाई प्रमाणपत्र प्रदान गर्दै आएको छ । गाउँपालिकाले उमेर पुगेर विवाह गर्ने नव जोडीलाई बधाई प्रमाणपत्र प्रदान गर्ने गरेको हो ।
हरेक वर्ष विवाह गर्ने महिनामा प्रहरी, जनप्रतिनिधि, महिला बालबालिका शाखा, बाल क्लब र अनुगमन, अभियान, अन्तरक्रिया, सडक नाटक र गाउँबस्ती बस्तीमा पुगेर बालविवाह रोकथामका लागि सचेतना कार्यक्रम गर्नेलगायत काम निरन्तर भइरहेको महिला तथा बालबालिका शाखाकी प्रमुख भगवती गिरीले बताउनुभयो ।
बाल विवाह बढी हुने वडामा विवाहित नयाँ जोडीलाई बधाई पत्र दिएर यो कार्यको सुरूवात गरेको महिला तथा बालबालिका शाखा प्रमुख गिरीले जानकारी दिनुभयो । उमेर पुगेपछि मात्र विवाह गर्ने प्रचलनलाई प्रवर्द्धन गर्न यो उपाय अपनाइएको र यसले नयाँ पुस्तामा सही सन्देश पुर्याएर बालविवाह गर्ने परम्परागत हानिकारक अभ्यास अन्त्य गर्न सहयोग पुर्याउने विश्वास पालिकाले लिएको गाउँपालिका अध्यक्ष पूर्णसिंह बोहोराको भनाइ छ ।
प्रमाण पत्र दिने योजनाअनुरूप पातारासी गाउँपालिका–७ रिनीका अर्जुन खड्का र लालमाया बुढा (खड्का) लाई पहिलो बधाई पत्र प्रदानसमेत गरिएको छ । यो जोडीले २० वर्ष उमेर पूरा गरी विवाह गरेकाले बालविवाह न्यूनीकरणको लागि प्रेरणादायी उदाहरण प्रस्तुत गरेको भन्दै सम्मान गरेको गाउँपालिकाकी उपाध्यक्ष जनमाया रोकायाले बताउनुभयो ।