साइबर अपराधको अभियोगमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई थुनामुक्त गर्न माग गर्दै सर्वोच्चमा दायर बन्दीप्रत्यक्षीकरणको निवेदन खारेज भएको छ ।
सर्वोच्चका न्यायाधीशद्धय महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले उक्त रिट खारेज गरेको हो । रिट खारेज गरेको सर्वोच्चले छिटो अनुसन्धान गरेर टुंग्याउन सरकारका नाममा निर्देशनात्मक आदेश पनि जारी गरेको छ ।
उनका छोरा निराजन प्रसाईंले सर्वोच्चमा गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय नक्साल, केन्द्रीय अनुसन्धान ब्युरो लाजिम्पाट र काठमाडौं जिल्ला अदालतलाई विपक्षी बनाएर बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेका थिए।
प्रसाईंलाई आइतबार नै जिल्ला अदालत काठमाडौंका न्यायाधीश कमला पौडेलको इजलासले थप पाँच दिन हिरासतमा राख्न अनुमति दिएको थियो ।
जिल्ला अदालत, काठमाडौंको अनुमति लिएर प्रहरीले उनलाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ । प्रहरीले प्रसाईंमाथि साईबर अपराध, सरकारी कागजात किर्ते लगायतको आरोपमा अनुसन्धान गरिरहेको छ ।