नेपाली सिने जगतमा निकै सफल भएर पनि अभिनय यात्राा बाट एकाएक टाढा रहेका केहि अभिनेत्रीहरू यस वर्ष पुनः चलचित्र र टेली शृंखलामार्फत पर्दामा फर्किएका छन् । एक समय चलचित्रमा धेरै देखिने नेपाली सिने कलाकारहरु पूजा चन्द, विपना थापा, रेजिना उप्रेती लगायतले एक दशकपछि यस वर्ष अभिनयमार्फत दर्शकसँग साक्षात्कार गरे । विकशित प्रविधि चलचित्रको प्रस्तुतीकरण र कथ्य शैलीमा आएको परिवर्तनसँगै उनीहरू पर्दाबाट गायव जस्तै भए गुमनाम रहे पनि चलचित्रमा पुनरागमन गर्न सफल भए ।
करिब एक दशकअगाडि ‘वरदान’ नामक चलचित्रमा देखिएकी अभिनेत्री रेजिना उप्रेतीले गत साउनमा प्रदर्शन भएको ‘मोदीबेनी’ चलचित्रमा अभिनय गरिन् । डिजिटल प्रविधिमा चलचित्र बन्ने क्रम बढेपछि उनी सिने जगत बाट टाढा भएकी थिइन् । उनको आगमनसँगै सुरु भएको पुराना अभिनेत्रीहरूको चलचित्रमा पुनरागमनले हाल सम्म निरन्तरता पाइरहेको छ
गत कात्तिक ३० गतेदेखि प्रदर्शन भएको चलचित्र ‘ह्रस्व–दीर्घ’मार्फत अभिनेत्री विपना थापा ठुलो पर्दामा फर्किइन् । उनले केही समय अगाडिको योजना भए तापनि अवस्था अनुकूल भएपछि चलचित्रमा काम गर्ने हौसला प्राप्त भएको प्रतिकृया दिइन्।
‘पारिवारिक कारणले गर्दा लामो समय यस क्षेत्रबाट टाढा भएँ । अहिले काममा फर्किएकी छु । यसपटक काम गर्दा पहिलो चलचित्रझैँ अनुभव गरेँ । छायांकन अनुभवलाई शब्दमा व्यक्त गर्न सक्दिनँ,’ ‘कुनै समय हामी अभिनेत्रीको भूमिकामा देखिएका थियौँ, अहिले सहायक भूमिकामा देखिने गरेका छौँ । पात्र जस्तो भए पनि त्यसको प्रभाव समग्र कथामा देखिनुपर्छ । अब मैले अभिनयलाई निरन्तरता दिने सोचअनुसार काम गरिरहेकी छु ।’ अभिनेत्री थापाले भनिन्
गत मंसिर ७ गतदेखि प्रदर्शनमा रहेको चलचित्र ‘तेल भिसा’मार्फत अभिनयमा पुनरागमन गरेकी अभिनेत्री पूजा चन्दले राम्रो चर्चा बटुलिरहेकी छिन् । अभिनेता विपिन कार्कीकी श्रीमतीको भूमिकालाई उनले न्याय गरेको प्रतिक्रिया दर्शक र चलचित्रकर्मीले दिएका छन् । यसले गर्दा आगामी चलचित्रमा पनि उनको भूमिका देख्न सकिने अनुमान लगाइएको छ । यही चलचित्रमार्फत अभिनेत्री ऋचा घिमिरे पनि अभिनयसँगै निर्माणमा फर्किएकी छिन् ।
‘विविध कारण चलचित्रकर्मकै कारण विदेश गइयो । त्यहाँको जीवनशैली र रहनसहनले गर्दा फर्किन समय लागेको हो । तर, पुनः फिल्मकर्ममै फर्किएकी छु । यसलाई अब निरन्तरता दिनेछु,’ अभिनेत्री घिमिरेले भनिन् । अभिनेत्री घिमिरेझैँ पछिल्लो समय अमेरिकामा बसोबास गरिरहेकी अभिनेत्री अरुणिमा लम्साल ‘घरः बट इन अमेरिका’ नामक वेब शृंखलामार्फत अभिनयमा ‘कमब्याक’ गर्दै छिन् । पछिल्ला दिनहरुमा नेपाली चलचित्रले व्यावसायिक रुपमा निकै सफल बन्दै गएको परिपेक्षमा पुराना सफल सिने कर्मीको आगमन कतिको फलदायी बन्ला त्यो हेर्न भने बाँकी नै रहेको छ ।