विश्वकै सबैभन्दा वृद्ध व्यक्तिको रुपमा रेकर्ड बनाएका बेलायती जोन टिनिसवुडको ११२ वर्षको उमेरमा उत्तरपश्चिम इङ्गल्यान्डको साउथपोर्टमा रहेको केयर होममा निधन भएको गिनिज वर्ल्ड रेकर्डले मङ्गलबार उनको परिवारलाई उद्धृत गर्दै बताएको छ ।
उनको जन्म सन् १९१२ अगस्ट २६ मा लिभरपुलमा भएको थियो भने निधन सोमबार भएको थियो।
अप्रिलमा भेनेजुएलाका ११४ वर्षीय जुआन भिसेन्टे पेरेजको निधनपश्चात् विश्वका सबैभन्दा वृद्ध व्यक्ति रुपमा उनले रेकर्ड कायम गराएका थिए ।
‘उहाँको अन्तिम दिन सङ्गीत र प्रेमले घेरिएको थियो’, ‘वर्षौंदेखि उहाँको हेरचाह गर्ने सबैलाई धन्यवाद ।’परिवारले एक विज्ञप्ति जारी गर्दै भनेको छ ।
टाइटानिक जहाज डुबेकै वर्ष जन्मिएका र दुवै विश्वयुद्धबीच जीवित रहेका टिनिसवुडले गिनिज विश्व रेकर्ड्सलाई उनको दीर्घायुको रहस्य ‘शुद्ध भाग्य’ रहेको बताएका थिए । ‘तपाईं या त लामो बाँच्नुहुन्छ वा छोटो बाँच्नुहुन्छ र, तपाईं यसका बारेमा केही गर्न सक्नुहुन्न’, उनले भनेका थिए ।
उनले स्वस्थ रहन सबै कुरामा संयम अपनाउन सल्लाह दिँदै भनेका थिए, ‘यदि तपाईं धेरै पिउनुहुन्छ वा धेरै खानुहुन्छ वा धेरै हिँड्नुहुन्छ भने, यदि तपाईंले धेरै केही गर्नुभयो भने, तपाईंले अन्ततः कष्ट भोग्नुहुनेछ’, उनको भनाइ थियो ।
दोस्रो विश्वयुद्धको समयमा टिनिसवुडले रोयल आर्मी पे कर्प्समा प्रशासनिक भूमिका निर्वाह गरे र पछि शेल र बीपी जस्ता तेल कम्पनीहरूमा हिसाब किताबको काम गरे ।
लिभरपुल फुटबल क्लबका आजीवन समर्थक रहेका उनको शुक्रबारको भोजन भने माछा र चिप्स हुने गरेको थियो ।