इलाम– ईलाम सदरमुकाम स्थित ठूलो टुँडिखेलमा मंसिर २२ देखि सञ्चालन हुने दोस्रो संस्करणको इलाम गोल्डकपमा ए–डिभिजनका पाँच सहित आठ टिमको सहभागी हुने भएका छन् ।
आयोजक रेड हर्स फुटबल क्लबले पत्रकार सम्मेलन गरी सहभागी हुने टिमको नाम र खेलतालिका सार्वजनिक गरेको छ ।
गोल्डकपमा डिफेन्डिङ च्याम्पियन न्युुरोड टिम, संकटा क्लब, त्रिभुवन आर्मी, चर्च ब्वाइज, झापाको रेड स्टार, मच्छिन्द्र, भारत दार्जिलिङको जिटिए र आयोजक रेड हर्स सहभागी हुने आयोजकले जानकारी दिएको हो ।
मंसिर २९ मा हुने फाइनल विजेताले उपाधिसहित नगद १० लाख र उपविजेताले पाँच लाख रुपैयाँ पाउनेछन् । विभिन्न विधाका उत्कृष्ट खेलाडीसमेत पुरस्कृत हुनेछन् ।
८० लाख रुपैयाँ आय–व्यय अनुमान गरिएको प्रतियोगिताका लागि अहिले धमाधम बाँसको प्यारापिट बनाइँदैछ । प्रतियोगिताभर करिब ६० हजार दर्शकले अवलोकन गर्ने लक्ष्य राखिएको आयोजक समितिका निरोज खड्गीले जानकारी दिए ।
उनका अनुसार दर्शकको प्रवेश शुल्क र विभिन्न दाताबाट प्रतियोगिताको खर्च संकलन गर्ने उद्देश्य छ । प्रतियोगिताको मुख्य प्रायोजन गैरआवासीय नेपालीको संस्था (एनआरएन)ले गरेको छ ।
आयोजक अध्यक्ष साङ्गो योल्मोले प्रतियोगिताका लागि तयारी धमाधम भइरहेको बताए । ‘मैदानमा प्यारापिट बनाउँदैछौं, आर्थिक सहयोग संकलन पनि भइरहेको छ,’ उनले भने, ‘गतवर्षको प्रतियोगिता भव्य भएकाले हामी उत्साही छौं ।’
पोहोर माघमा भएको पहिलो संस्करणमा एनआरटीले टाइब्रेकरमा बिर्तामोड युनाइटेडलाई ४–३ गोलान्तरले पाखा लगाउँदै उपाधि जितेको थियो ।
पोहोर विजेताका लागि नगद पाँच लाख र उपविजेतालाई तीन लाख रुपैयाँ पुरस्कार राखिएको थियो । यो साल विजेताको पुरस्कार राशि दोब्बर बनाइ उपविजेताको पुरस्कार पनि बढाइएको हो ।