–मधु शाही
‘हेलो ! मधुजी नमस्कार । फिल्म प्रदर्शन भएको तीन दिन भइसक्यो, केही लेखिदिनु पर्यो’, तिहारताका चलचित्र पूर्णबहादुर सारङ्गीका ‘हिरो’ विजय बरालले फोनमार्फत भनेका थिए । उनको फोन आउँदा मर्दी हिमालको पदयात्रामा थिएँ । नेटवर्कको समस्याले आवाज राम्रोसँग सुनिएन । मैले काठमाडौं फर्किएपछि लेखौँला भनेर फोन राखिदिएँ । चार दिनको पदयात्रा पूरा गरेर काठमाडाै फर्किंदा फिल्मको बारेमा चर्चा नगर्ने सायदै कोही थिए । चर्चा मात्रै होइन फिल्म हेरेर सामाजिक सञ्जालका भित्तामा आँशु खसालेका दृश्य पनि सँगसँगै राखिरहेका थिए ।
नेपाली कलाकारिता क्षेत्रमा विजय बराल नौलो नाम होइन तर यो तहको चर्चा सायद पहिलो पटक भएको होला । अझ भनौँ उनी एकाएक ‘चर्चित’ भए । सामाजिक सञ्जालमा चलचित्र हेरेर रुँदै हलबाट निस्किने दृश्यले बरालको अभिनयको तारिफ जताततै भइरहेको थियो । मैले चलचित्र हेरेकी थिइनँ । त्यसैले रुने कुरा पनि भएन ! हल सबै ‘हाउसफुल’ थिए । एक साता धैर्य गरे । यद्यपि हल भरिएकै छ । जसरी बरालले फिल्म चलेन भनेर फोन गरेका थिए, मैले उसै गरी उनलाई फोन गरेर भने, ‘विजयजी फिल्म हेर्न पाइनँ, सबै हाउसफुल छ । कसरी समीक्षा गरौँ ?’, उनले निकै हार्दिकताले भने, ‘म मिलाउँछु नि !’
बराल अभियनले जति अब्बल छन्, यति नै लचिलो मानवीय स्वभाव छ । झण्डै १६ वर्षदेखि मण्डला थिएटरमा उनले रङ्गकर्मीका रुपमा निरन्तर गर्दै आएको सङ्घर्ष र अभिनयप्रतिको लगाव मैले प्रत्यक्ष देख्ने र लेख्ने अवसर पाएकी छु । अभिनय नै सबैथोक मान्ने कलाकारमध्ये उनी पनि एक हुन् । जतिबेला नाटक मञ्चन गरी थिएटरबाट बाहिर निस्किन्थे उनको मप्रति उल्टो प्रश्न हुन्थ्यो, ‘मधुजी, मलाई प्रशंसा गरेर नलेख्नु । जे महसुस हुन्छ यथार्थ आलोचनात्मक लेख्नु है !’
जुन कलाकारले कटु आलोचनालाई पचाउन सक्दैन ऊ धारिलो हुँदैन । विजय बराल यस सन्दर्भमा असाध्यै लचिलो कलाकार हो । उनी अभिनीत पूर्णबहादुरको सारङ्गीको लोकप्रियताले यसको पुष्टि गरिसकेको छ । पूर्णबहादुरको सारङ्गी भनौं या विजय बरालको सारङ्गी पर्यायवाची जस्तै छ अहिले, किनकी चलचित्रमा विजय बराल आफू हराएर पूर्णबहादुर पात्रका रुपमा उत्रिएका छन् । सायद उनी ओशोले कलाकारको सन्दर्भमा भनेको भनाइबाट प्रभावित छन् । कुनै सन्दर्भमा ओशोले भनेका छन्, ‘जीवन अभिनय गरे जस्तै गरी जिउनु र अभिनय जीवन जिए जस्तै गरी गर्नु !’ बरालले दिलोज्यान लगाएर यस फिल्ममा पात्र अनुकूल अभियन गरेका छन् तर प्रश्न यतिमै टुङ्गिँदैन । एउटा चलचित्र के हो ? कल्पना, यथार्थ घटना, समाजको ऐना, रुपान्तरणको प्रयास वा व्यापार ?
साहित्यकार अमर न्यौपानले किताब जात्राको छैटौँ संस्करणको संवादका क्रममा भनेका छन् कि–साहित्य समाजको ऐना हो भनेर मात्रै पुग्दैन, समाज रुपान्तरण र परिवर्तनका आधार सिर्जना गर्ने क्रान्ति पनि हो । लेखक न्यौपानेको बुझाइ सापटी लिने हो भने पूर्णबहादुरको सारङ्गी रुपान्तरण र क्रान्तिभाव जागरणमा चुकेको छ । समाजको अत्यन्त पिँधमा पारिएका दलित समुदायको प्रतिनिधित्व गर्ने पात्र हो, पूर्णबहादुर । उसले आफू अपमानित भइरहेको समाजबाट उन्मुक्त हुन नसकेको बेला छोराको चम्किलो भविष्य कसरी पूरा गर्न सक्छ ? चलचित्रले यो प्रश्नलाई भगवान्को भरोसा छोडिदएको छ ।
छोराले पूर्णबहादुरलाई पटक–पटक सोध्छ, ‘तिमीलाई किन हेप्छन् बा ?’ खासमा चलचित्रले यसको उत्तर दिनुपर्ने हो तर एउटा गाइने समुदायको गरिबी देखाएर मानवीय संवेदना बटुल्न खोज्दै चलचित्र व्यावसायिक बनाउनु न्यायोचित छैन । चलचित्रले उठाउने मुद्दा र पात्रहरुमा सकारात्मक रुपान्तरण ल्याउन जरुरी थियो, यदि साहित्य रुपान्तरणको आधार हो भने । चलचित्र समाजको दर्पण मात्रै हो भने त्यो दर्पण नेपाली समाजलाई देखाइरहन जरुरी छैन, थिएन ।
हाम्रो समाजले जातीय तथा लैङ्गिक आधारमा हुने हिंसा र अपमान, गरिबी, सीमान्तकृत हुनुको पीडाबारे हाम्रो समुदाय बेखबर वा अञ्जान छैन । बरु त्यो पीडा ‘कठै’ वा ‘विचरा’ मा सीमित छ । अझ अगाडि भन्ने हो भने यो विचारमा मात्रै कैद छ । गणतान्त्रिक शासन व्यवस्था अपनाएको डेढ दशक नाघेको समाजले अब ती दलित र सीमान्तकृत पात्रलाई विचरा वा कठै वा विचारमा होइन, राज्य र समुदायले उसमाथि गर्दै आएको विभेदको आत्मग्लानी महसुस गरी व्यवहारमै ‘सुध्रिएको’ महसुस गर्न वा गराउन जरुरी छ ।
हामीले भुल्नु हुँदैन, पूर्णबहादुरले सारङ्गी बजाएर कला पस्किएको यो समाजले कहिल्यै इज्जत गरेन । बरु त्यही सारङ्गीकै कारण उसमाथि जातीय विभेदको चरम प्रातडना सहन बाध्य पारेको छ । र, यदाकदा भन्ने गरिन्छ, ‘दलित समुदायले आफ्नो जात, थर र पेसामाथि गर्व गर्न सिक्नुपर्छ ।’ चलचित्र पूर्णबहादुरको सारङ्गीले पनि डाक्टर पढेपछि छोरोले गौरवका साथ सारङ्गी समाएको दृश्य देखिन्छ । कुनै पनि सम्प्रदायको जात, धर्म र थरमाथि न कथित दलित न कथित गैरदलित । कसैले न घृणा गर्न जरुरी छ न गर्व नै । यो मानवले आर्जेको कुनै पनि तत्व होइन, केवल मान्यताबाहेक तर त्यही थर, जात र पेसाले मान्छेको अस्तित्वमाथि नै प्रश्न गर्ने अवस्था सिर्जना हुन्छ भने त्यो सारङ्गी पुस्तान्तरण गर्नुको कुनै अर्थ छैन ।
दलित अधिकारकर्मी भन्छन्, ‘कथित दलित समुदायमाथिका विभेद राज्यद्वारा नीतिबद्ध बनाएर गरिएको विभेद हो । पूर्णबहादुर कुसल कला साधक हुन् । उनी सिर्जना सुनाएर आयआर्जन गर्छन् । उनी मगन्ते होइनन्।’ हो, चलचित्रले पूर्णबहादुरलाई मगन्ते बनाएको छ । जुन समाजले सारङ्गी बजाउनेलाई मगन्ते भन्दै आएकै थियो त्यही यथार्थ देखाइएको छ । खाँचो त पूर्णबहादुर मगन्ते होइनन्, उनी एक अब्बल र कर्मशील कलाकार हुन् भनेर साबित गराउनु थियो । चलचित्रमा पूर्णबहादुरले छोरालाई पढाएर चिकित्सक बनाएपछि उसले भोगे जस्तै अपमान र विभेद के अब उसको छोराले सहनु पर्दैन ? भन्ने जवाफको थियो ।
हाम्रो समाजमा प्रशस्तै घटना घटिरहेका छन् जातका आधारमा । यो ‘ब्राह्मणवादी’ सोचको पराकाष्ठा हो । समाजमा विद्यमान यो सोच चिरेर मान्छेले मान्छेमाथि गरिएको अमानवीय आचरणप्रति लज्जाबोध गराउनुपर्ने अहम् मुद्दालाई चलचित्रका निर्देशक (सरोज पौडेल) ले बेवास्ता गरेको देखिन्छ । आँशु बेच्न सजिलो छ, यदि ढङ्ग पुग्यो भने ।
पूर्णबहादुरको सारङ्गीले नेपाली चलचित्रको इतिहास नै रच्यो यस हिसाबले । अभियनले रुवाएको चलचित्रमा विषयवस्तु भने कुनै अनौठो र अपरिचत होइन । दलित समुदायको रोदनलाई सिँढी बनाएर सत्तामा पुगेपछि सबै भुले जस्तै चलचित्र पूर्णबहादुरको सारङ्गीले पनि समाजको चरम विभेदमा परेको समुदायमाथि न्याय गर्ने उद्देश्य गौण ठानेको देखिन्छ । कलाकारको अभिनयले रोदनको व्यापार गर्दैमा चलचित्रले इतिहास रच्न सक्छ तर सफल र चमत्कारपूर्ण चलचित्र भन्न सुहाउँदैन । पूर्णबहादुरको सारङ्गीले उठाउनु पर्ने थुप्रै सामाजिक मुद्दाहरु कलाकारको आँशुसँगै विलीन भएका छन् । अर्थहीन भएका छन् । रासस