नेपाली चलचित्र ‘अग्निदहन’ मंसिर ७ गतेबाट देशभरका हलमा प्रदर्शनमा आउने तयारीमा रहेको छ। यस चलचित्रले सामाजिक कुरितिहरू विशेष गरी बोक्सी प्रथाको विरोधमा आधारित कथा प्रस्तुत गरेको छ। निर्देशक घनश्याम लामिछानेको नेतृत्वमा तयार भएको यो चलचित्र लोकमणि पौडेलको उपन्यासमा आधारित छ, जसलाई अभिनयमार्फत जीवन्त बनाउने प्रयास गरिएको छ।
चलचित्रले विशेष सन्देश सहित समाजमा व्याप्त बोक्सी प्रथा र त्यसले निम्त्याउने अन्यायको चित्रण गर्दै, यस कुप्रथाको उन्मूलनका लागि चेतना फैलाउने उद्देश्य राखेको छ। पाँच वर्षअघि निर्माण भई नेपाल र भारतका विभिन्न सिमाना क्षेत्रहरूमा विशेष शो गरिसकेको यस चलचित्रलाई अहिले व्यावसायिक रूपमा सार्वजनिक हलहरूमा प्रदर्शन गराउन लागिएको छ।
चलचित्रको प्रचारको क्रममा फिल्मी टोलीले पूर्वी नेपालका विभिन्न शहरहरूमा हल भिजिट गरी प्रचार-प्रसार गरिरहेका छन्। निर्माण पक्षले चलचित्रलाई भोजपुरी, मैथिली र हिन्दी भाषामा पनि डबिङ गरी फराकिलो दर्शकवर्ग सम्म पुर्याउने योजना बनाएको छ।