नेपाल कम्युनिष्ट पार्टीका संस्थापक सदस्य नरबहादुर कर्माचार्यको जन्मशताब्दी कार्यक्रमको शुभारम्भ भएको छ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कुम्भेश्वरमा स्थापना उनको शालिकमा माल्यार्पण गरेर उनको जन्मशताब्दीका कार्यक्रमको शुभारम्भ गरेका छन् ।
अध्यक्ष दाहालले दिवंगत कम्युनिस्ट नेता कर्मचार्यको सालिकमा माल्यार्पण गरेसँगै जन्मशताब्दीका कार्यक्रम आरम्भ भएका नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानका कार्यवाहक अध्यक्ष गिरिराजमणि पोखरेलले बताए ।
“कर्माचार्यको जन्म भएको एक सय वर्ष भयो यो वर्षभरि नै कार्यक्रम गरिँदैछ, आज दिउँसो प्रज्ञा प्रतिष्ठानमा जन्मशताब्दी आरम्भका अवसरमा ‘नेपाली कम्युनिष्ट आन्दोलनको ७५ वर्ष र आगामी कार्यभार’ शीर्षकमा विचारगोष्ठी हुँदैछ, देशैभरि कार्यक्रम गर्न पार्टी पङ्क्तिलाई निर्देशन दिइएको छ”, कार्यवाहक अध्यक्ष पोखरेलले भने।
गोष्ठीलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल ,का महासचिव मोहन वैद्य, नेकपा (मसाल)का महामन्त्री मोहनविक्रम सिंह, लगायत अन्य वामपन्थी पार्टीहरु बाट आमन्त्रित नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको उनले जानकारी दिए।
कर्माचार्यको जन्म विसं १९८१ कात्तिक १४ गते भाइटीकाका दिन ललितपुरको झपाटोलमा बुबा चन्द्रबहादुर र आमा श्रीकुमारीको कोखबाट भएको थियोे भने उनको २०७० साल साउन ९ गते काठमाडौँमा निधन भएको थियो । विसं २००६ मा भारतको कोलकातास्थित वडाबजारमा पुष्पलालको संयोजकत्वमा स्थापना भएको नेकपाको कर्माचार्य, निरन्जन गोविन्द वैद्य र नारायणविलास जोशी सदस्य थिए । उनी २००५ सालदेखि प्रजातन्त्र सङ्घमा संलग्न भएर राणाविरोधी र मजदुर आन्दोलनमा सक्रिय सहभागी भएका थिए ।
पार्टी स्थापनापश्चात् कर्माचार्य मजदुर सङ्गठनको संस्थापक अध्यक्ष बनेका थिए भने २०१६ सालको निर्वाचनमा तत्कालीन ललितपुर नगरपालिकाको प्रमुखमा निर्वाचित हुनुका साथै २०१९ सालमा सम्पन्न तेस्रो महाधिवेशनबाट नेकपाको केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए।
उक्त अवसरमा माओवादी केन्द्रका उपाध्यक्ष नारायण काजी श्रेष्ठ, उपाध्यक्ष पम्फा भुसाल, महासचिव देवबहादुर गुरुङ, नेता रामनारायण बिडारी सहितका नेताहरूको उपस्थिति थियो ।कर्माचार्यले २०४६ साल पछि एकता केन्द्र हुदैपछि माओवादी पार्टीमा सल्लाहकार बोर्डमा रहेर काम गरेका थिए।