गोपाल गिरी
“हट्यो सारा हिलो मैलो
हरायो पानीको वर्षा
भवानीको भयो पूजा
चल्यो आनन्दको वर्षा ।
जता जाऊँ सबै भन्छ
दशैआयो दशैँ आयो
यही आनन्द चर्चाले
सबै सङ्कट बिर्सायो ।”
कविशिरोमणी लेखनाथ पौडेलको यो कविताशं मैले कक्षा ८मा पढेको थिए। कवितामा भनिए जस्तै बर्खायामको झरि, पानी ,बादल ,हिलो मैलो लाई साँच्चिकै एकातिर पन्छाएर शरद ऋतुको काखैमा लुटुपुटिएर आउने दशै बाल्यवस्थाको मन मस्तिष्कको लागि क्या गजबको पर्व । अरु बेला जस्तोसुकै लुवाई खुवाई होस् त्यो विशेष दिनमा मीठो मसिनो खाने, नयाँ लुगा लगाउने त्यस्तै चाहना जुन आम बाल्यकाल गुजारिरहेका बाल बच्चाहरु लाई हुन्छ ठिक त्यहि नै ।
मेरो स्मरणमा अझै आउछ मेरा समकालीनहरु लाई के सुविधा थियोे थाहा भएन ।तर हाम्रोमा दशैको लुगा र स्कुल ड्रेस त्यै हुन्थ्यो जसलाई गाउँमै रहेका १जना सूचिकारले घरमै आएर सिलाई दिन्थे ।आफ्नै घरबारीमा फलेको ३०-३५ किलो अलैंची टिपेर सुकाई बेचे पछि हाम्रो घरमा दशैको चहलपहल शुरु हुन्थ्यो । त्यो समयको अलि गतिलो आयस्रोत हाम्रो त्यहि थियोे नभए गाउँ भरीमै आर्थिक विपन्नता ले जकडिएको घर हाम्रै मात्र थियोे । अलैंची बेचेर पैसा भए पछि मात्रै तेल ,चामल मरमसला र लुगाफाटो किन्ने तयारी हुन्थ्यो ।
मासुको आईटमहरु खसी, कुखुरा हाँस हुन्थे त्यसमा बुवाको फेभरेट भएकोले पोर्क पनि छुट्थेन ।हाँस पूजा गर्न अनिवार्य थियोे । हाँस झापामा काँक्रो, फर्सि तथा स्कुस बेच्न जादा बुवाले आफूलाई र गाउँमा चाहिनेलाई ल्याईदिने गर्नुहुन्थ्यो कतिले पैसा पछि दिने भनेर लग्थे तर पैसा दिन्थेनन् । कुनैकुनै बर्षमा आफूले रोजेको लुगा कपडा लगाउने मौका पनि मिलेको थियोे त्यसै अनुसार त्यो बेला निकै प्रचलनमा रहेको ज्याकेट (ट्याक सुट भन्थे ऐलेका स्कुलमा मंगलबार र शुक्रबार लगाउने पोशाक जस्तै ) लगाउने मेरो रहर लाई पूरा गरिदिने आमाबाको कुरा सुनेर फुरुक्क परेर निर्दोष मनले आफैलाई प्रश्न गरेको थे फेरि पनि यस्तो दशै आउछ ? त्यो पाईन्ट किन्न जाने मेसोमा हिडेर भए पनि फिक्कल बजार जान पाएको थे पसले सँगको लामो बार्गेनिङ पछि २५०रुपैयाँमा वल्लतल्ल फुत्काईएको थियोे दशैको लागि लुगा ,गाडीमा चढ्ने लोभले अघि हिडेर आएकोले खुट्टा दुखेको छ भन्दिए पछि बसमा चढेर डुँडेगैरा सम्मको भाडा रु ५ तिरेको सम्झदा र ऐलेको स्थिति सम्झदा अनायसै वेचैनता छाउछ।
दशैको बेला बच्चाहरु लाई मावलको विशेष महत्त्व हुन्छ।मावल सबैलाई प्यारो नै लाग्छ नजिकै भएपनि मलाई पनि प्यारो हुने नै भयो । मावलीहरु भूजेल थरको हुनुहुन्छ , घरमा भन्दा रमाइलो लाग्ने मलाई पनि मावल नै थियोे । ठूलो परिवार , धेरै जमघट पाहुना हरु खासै नटुट्ने , ठूलो ठूलो सुँगुरहरु ढाल्ने काम हुन्थ्यो त्यहाँ सुँगुर मार्ने समयमा संगीनले रोप्दा निस्केको पीडादायी आवाजले सुन्ने साहस नभएर कुदेर तल जान्थे पछि पछि टाईगर नामको कुकुर पनि आउथ्यो ,सँगुर काट्ने दिन बाटा भरी हल्ला गर्दै बहिनी र म जान्थ्यौ मानिसहरु अलमल्ल पर्थे पछि बुझ्दा थाहा भयो गिरीले सुँगुर खाँदैन भनेर यिनिहरु के भन्छन् भनेर रे ऐले सम्झिदा निकै रमाइलो लाग्छ ती दिनहरु । मावलको हजुरवा सँग दौतरी बूढाहरु छाती ठोक्दै कौडा खेलेको राति हाई काढ्दै हेरिन्थ्यो खेल नबुझे पनि माहौल रमाइलो लाग्थ्यो । दक्षिणाको हिसाबले पनि मेरो जीवनमा अलि बढि अर्थ राख्ने मावल नै थियोे । हजुरबाले दौरा सुरुवाल कोट सिलाईदिनु भएको थियोे निकै लामो समय लगाएर फटाएको सम्झनामा ताजै छ । ऐले नत हजुरबुबा हरु हुनुहुन्छ नत त्यतिबेलाको जस्तो रमाइलो । मेरो वालापनको दशै सम्झदा अर्को घटनाको याद आईरहेछ उक्त दिन घरमा गाई ब्याएको थियो तर गाईले साल ( स्थानीय भाषामा अम्रो) झारेको थिएन मलाई अम्रो र भाई ( मेरो सानो भाइ थियो जो ऐले संसारमा छैन)हेर्न लगाएर आमा बा र बहिनी दशैको किनमेल गर्न नजिकै हर्कटे बजार जानुभयो । गोठमा बसेर अम्रो रुगिँरहदा साँझ पर्न लागिसक्यो झार्दैन यता भाइ भोकले हो या बा आमालाई नदेखेर अति रोयो रुदाँरुदै निदाउन थाल्यो सकि नसकि बोकेर खाटमा सुताएर बाहिर आउछु त अम्रो झारेर अघि पछाडि फर्केर गाईले खाईसकेछ बा आमा फर्के पछि कुटाइ नमिठो खाइयो । म स्कुल तिर जान थालेको थिईन तर त्यतिबेला नजिकैकको स्कुलमा बाल केन्द्र सन्चालनमा थियोे पढाउने हाम्रै जेठा दाजु हुनुहुन्थ्यो बा आमाले छुट्टि हुने बेलामा बालकेन्द्रमा पठाउनु भयो त्यहाँ पनि ढिलो आईस् भनेर कुटाई नै खाइयो ऐले सम्झदा त्यो दिन दशैको मुखमा दशा नै चलेको रहेको क्यारे जस्तो लाग्छ।
आजभोलि बालापनको जस्तो दशैको रौनक कति पनि छैन यताका दिनहरुमा विचारहरुमा परिवर्तन भएको छ ।दशैको आफ्नै बुझाई छ ।दशै मनाउने क्रममा एउटा नजिर भने जवर्जस्त उपस्थित छ कि बाल्यकाल देखि ऐले सम्म दशै मनाउने क्रममा अनावश्यक तडकभडक र ऋण खोजेर दशै मनाउने काम भने भएको छैन वालापनको दशै प्रतिको उल्लास ,उमङ्ग मेरा छोराहरुमा ट्रान्सफर भएको छ।यस्तो बेला वालापनको दशैको सम्झना फिल्मको दृश्य झै भएर आउदो रहेछ ।