रहेनन् ‘बसाइँ’ उपन्यासका सर्जक लीलबहादुर क्षेत्री

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

 

चर्चित नेपाली उपन्यास बसाइँ का सर्जक लीलबहादुर क्षेत्रीको ९२ वर्षको उमेरमा भारतको आसामस्थित गुवाहाटीमा निधन भएको छ। उनी नेपाली साहित्यमा महत्वपूर्ण योगदान दिने साहित्यकारमध्ये एक थिए।

क्षेत्रीका चर्चित कृतिहरूमा बसाइँ, अतृप्त, बह्मपुत्रको छेउछाउ, र आसाममा नेपाली भाषाको साह्रोगाह्रो आदि पर्दछन्। नेपाली भाषा तथा साहित्यको श्रीवृद्धिमा उनले पुर्याएको योगदानलाई कदर गर्दै उनलाई जगदम्बाश्री पुरस्कार प्रदान गरिएको थियो। भारत सरकारले पनि उनलाई सर्वोच्च नागरिक सम्मान पद्मश्री बाट विभूषित गरेको थियो।

उनले प्राप्त गरेका अन्य सम्मानहरूमा मदन स्मारक व्याख्यानमाला सम्मान, वेदनिधि पुरस्कार, अगम स्मृति पुरस्कार, असम नेपाली साहित्य सभा पुरस्कार, नई देरुनिख अन्तर्राष्ट्रिय पुरस्कार, पूर्वाञ्चल साहित्य शिरोमणि पुरस्कार, हरिभक्त कटुवाल स्मृति पुरस्कार, र बसुन्धराश्री आदि समावेश छन्।

क्षेत्रीको बसाइँ उपन्यास २०१४ सालमा मदन पुरस्कार गुठीबाट प्रकाशित भएको थियो। यस उपन्यासले दोस्रो विश्वयुद्धताका नेपालबाट सिक्किम, असम, मेघालय, र भुटानतिर बसाइँ सर्न बाध्य नेपाली समुदायको पीडादायी कथा चित्रण गर्छ। बसाइँ मा आधारित भएर चलचित्रसमेत निर्माण गरिएको छ।

यसैबीच, प्रधानमन्त्री केपी शर्मा ओलीले क्षेत्रीको निधनमा श्रद्धाञ्जली व्यक्त गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गर्दै लेखेका छन्,
“लीलबहादुर क्षेत्रीको बसाइँ उपन्यासले कुनै समय क्याम्पस पढ्ने हरेक विद्यार्थीको मन छोएको थियो। उनका कृतिहरूले नेपालीहरूको संघर्ष र विस्थापनको पीडा उजागर गरेका छन्।”

नेपाल र भारतका नेपाली भाषी समुदायका लागि महत्वपूर्ण योगदान पुर्याएका क्षेत्रीप्रति नेपाली साहित्य क्षेत्रले गहिरो श्रद्धाञ्जली अर्पण गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *