इलाममा रचना रिमालको भव्य सांगीतिक प्रस्तुति, दर्शकलाई मन्त्रमुग्ध बनायो

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

इलाम ।पूर्वी पहाडको सुन्दर नगरी इलाम शनिबार साँझ संगीत र उत्साहको रंगमा रंगिएको थियो। नेपाली संगीतको आकाशकी चम्किलो तारा, लोकप्रिय गायिका रचना रिमालको भव्य प्रस्तुति इलामको गौतम बुद्धसभा गृहमा आयोजित नेपाली विद्यार्थी संघ इलामको सांस्कृतिक साँझमा दर्शकहरूको दिल जित्दै अघि बढ्यो।

गायिका रचना रिमालले आफ्नो सुमधुर स्वर र ऊर्जावान प्रस्तुतिले इलामका संगीतप्रेमी दर्शकहरूलाई मन्त्रमुग्ध बनाइन्। कार्यक्रमलाई देख्न र सुननका लागि इलामका विभिन्न उमेर समूहका संगीतप्रेमी उपस्थित थिए। रिमालले नेबि संघ इलामको निमन्त्रणालाई सहर्ष स्वीकार्दै आफ्ना चर्चित गीतहरू प्रस्तुत गरिन्।

कार्यक्रमको आरम्भ “फोटो फिरिममा” बाट भएको थियो, जसलाई दर्शकहरूले जोश र उत्साहका साथ स्वागत गरे। गीतको पहिलो हरफमा नै दर्शकहरू नाच्न थाले। रिमालको आवाज र प्रस्तुतिले सबैलाई मोहित बनायो। त्यसपछि उनले एकपछि अर्को गर्दै आफ्नो हिट गीतहरू “तिमी त पोखरेली”, “मिनरल वाटर”, “पहिलो पल्ट भेट हुँदा”, र “सुनन पियारी” गाईन्। यस बीचमा, दर्शकहरू रिमालसँग प्रत्यक्ष अन्तरक्रिया गर्दै साथीहरूका साथ सामूहिक तस्बिरहरू पनि खिचाइरहेका थिए।

कार्यक्रममा रिमालको प्रस्तुतिमा मात्र जादु थिएन, उनको ऊर्जा र दर्शकहरूसँगको सजीव सम्बन्धले सांगीतिक कार्यक्रमलाई अविस्मरणीय बनायो। इलाममा पहिलो पटक प्रस्तुति दिएकी रिमालले दुई घण्टाभन्दा बढी समयसम्म दर्शकहरूलाई निरन्तर मनोरञ्जन दिइन्।

कार्यक्रमको अन्त्यतिर पनि दर्शकहरूको उत्साहमा कमी आएको थिएन। उनीहरूले बारम्बार “वान्स मोर” भन्दै रिमाललाई फेरि गाउन आग्रह गरेका थिए। रचना रिमाल पनि दर्शकहरूको न्यानो माया देखेर भावुक भइन्।

नेबि संघ इलामका जिल्ला उपाध्यक्ष प्रबिन कट्टेल र जिल्ला अध्यक्ष टिकाराम पुरीले कार्यक्रमको सफलता र रिमालको प्रस्तुति बारेमा प्रशंसा गर्दै भने, “यस प्रकारका सांगीतिक कार्यक्रमहरूले स्थानीय कला र संस्कृतिको प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्छन्। इलामका संगीतप्रेमीहरूले यस साँझलाई लामो समयसम्म सम्झिरहनेछन्।”

I prefer this response

Leave a Reply

Your email address will not be published. Required fields are marked *