अबदेखि कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई भेट्दा मोबाइल फोन बोक्न नपाइने भएको छ । मुख्यमन्त्री कार्कीले आफूलाई भेट्न आउने आगन्तुकका लागि मोबाइल फोन प्रयोग निषेध गर्ने निर्णय गरेका छन् ।
मुख्यमन्त्रीको सचिवालयका अनुसार यो निर्णय सुरक्षा सतर्कता र गोपनीयता सुनिश्चित गर्नका लागि गरिएको हो । मुख्यमन्त्री कार्यालय प्रवेश गर्ने प्रत्येक आगन्तुकलाई अब मोबाइल फोन बाहिरै राख्नुपर्नेछ । यस्तो निर्णयपछि अब भेटघाटमा सहभागी हुनेहरूले कुनै पनि प्रकारको अडियो वा भिडियो रेकर्डिङ, लाइभ प्रसारण वा फोटो खिच्न पाउने छैनन् । मुख्यमन्त्री कार्कीको यो कदमलाई कतिपयले प्रदेश सरकारको कार्यशैलीमा शिष्टाचार र मर्यादा कायम गर्न गरिएको पहलका रूपमा लिएका छन् । ‘मुख्यमन्त्रीसँग हुने छलफलहरूमा संवेदनशील नीति, रणनीति र निर्णयहरू समावेश हुने भएकाले गोपनीयता अति आवश्यक छ त्यही कारण मोबाइललाई बाहिरै राखेर मात्रै भेटघाट गर्न सकिन्छ ।’ मुख्यमन्त्रीका निजी सचिव कमल पौडेलले भने ।