काठमाडौं — प्रतिनिधिसभाको आइतबारको बैठकमा माओवादी केन्द्रका सांसद माधव सापकोटाले सरकारको नीतिको आलोचना गर्दा नै सत्तारूढ नेपाली कांग्रेसका सांसद पूर्णबहादुर (कान्छाराम) तामाङले ताली ठोकेका छन्।
विशेष समयमा बोल्दै सापकोटाले एमाले सांसद पदम गिरीले “सरकार ढल्ने” हल्ला नफैलाउन आग्रह गरेको उल्लेख गर्दै सरकार गलत दिशामा अगाडि बढिरहेको बताए। उनले भने, “माननीय गिरीले भनेझैं, सरकार आज ढल्छ, भोलि ढल्छ भन्ने भ्रम नबनोस्। तर, संविधान संशोधन गर्ने, राष्ट्रलाई अरू डेलिभरी दिने भन्ने बहानामा सरकारले जनताको मुखमा बुजो लगाइरहेको छ। केले रोकिरहेको छ? आएकै दिनदेखि कुलमान घिसिङलाई झम्टियो, अब त आफ्नै मन्त्रीलाई बर्खास्त गरियो!”
यसैबीच सापकोटाको भाषणमा कांग्रेस सांसद तामाङले ताली बजाए। उल्लेख्य छ, सापकोटाले जिस्क्याएका बर्खास्त मन्त्री नै तामाङ हुन्।
तामाङ ऊर्जा राज्यमन्त्री रहँदा नेपाल विद्युत प्राधिकरणका प्रमुख कुलमान घिसिङलाई हटाउने सरकारको निर्णयको विरोध गरेका थिए। उनले ऊर्जा सचिवबाट स्पष्टीकरण मागेका थिए, तर अन्ततः आफैं बर्खास्त भए। यसपछि उनी सरकार विरुद्ध खुलस्त भएर बोल्न थालेका छन्।
यसले सत्तारूढ दलभित्रै असन्तुष्टि बढ्दै गएको देखाउँदै छ।