महेन्द्रबेंसीलाई धार्मिक पर्यटकीय स्थल बनाउने पहल

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

इलामको सूर्योदय नगरपालिका–४, ५ र ६ को संगमस्थल महेन्द्रबेंसीलाई धार्मिक र पर्यटकीय दृष्टिले विकास गर्न स्थानीय बासिन्दा सक्रिय भएका छन्। सिद्धिखोला, कन्याम र अन्तुखोलाको संगमस्थल रहेको यस ठाउँलाई हिन्दू, बौद्ध, किरात लगायत धर्मावलम्बीको साझा आस्थाको केन्द्रका रूपमा संरक्षण गर्ने प्रयास सुरु गरिएको हो।

वनजंगल र जैविक विविधताले भरिपूर्ण यस क्षेत्रको सौन्दर्य पर्यटकहरूमाझ फैलाउने उद्देश्यसहित स्थानीयवासीहरूले प्रचारप्रसार र पूर्वाधार विकासमा ध्यान दिन थालेका छन्। त्यसै उद्देश्यले हालै यहाँ बहुधार्मिक पूजाआजा, प्रार्थना तथा औपचारिक कार्यक्रम सम्पन्न गरिएको छ। मंगलबार आयोजित कार्यक्रममा सयौं स्थानीय सहभागी थिए।

सहकार्यमा विकासको संकल्प

‘धार्मिक, ऐतिहासिक भूमिलाई चिनाउने अभियान, सबै धर्मको सम्मान’ भन्ने नाराका साथ महेन्द्रबेंसी दुर्गाघाट सर्वधर्म त्रिवेणीधाम समितिले कार्यक्रम आयोजना गरेको हो। कार्यक्रममा वडा नं. ४ का अध्यक्ष शरण राई, वडा ५ का अध्यक्ष उर्गेन बम्जन र वडा ६ का अध्यक्ष शिव बस्नेतको उपस्थिति थियो।

वडाध्यक्षहरूका अनुसार त्रिवेणीमा पक्की पुल, सडक स्तरोन्नति, धारो, पार्क, चर्पीलगायत पूर्वाधार निर्माण गर्न स्थानीय सरकार र वडास्तरमा साझा योजना बनाइँदैछ। आउँदो आर्थिक वर्षदेखि नै आवश्यक पहल सुरु गरिने प्रतिबद्धता जनाइएको छ।

इतिहास र सम्भावना

कार्यक्रममा बोल्ने वक्ताहरूले महेन्द्रबेंसीको ऐतिहासिक तथा धार्मिक महत्व स्मरण गरे। स्थानीय अगुवा चक्रपाणि घिमिरेले वि.सं. २०१८ मा यहाँ सप्ताह ज्ञानमहायज्ञ र २०२२ मा पुराण भएको स्मरण गराए। उनका अनुसार विगतका धर्मगुरुहरू यस त्रिवेणी क्षेत्रमा स्नान र पूजा गर्न आउने गरेका थिए।

लामा तिलविक्रम राईले स्थानको धार्मिक बहुलताले पर्यटकीय सम्भावना उजागर गर्ने बताए। वडा ६ निवासी यामबहादुर राईले हिन्दू, बौद्ध र किरात धर्मावलम्बीहरूको यो स्थानमा श्रद्धा रहेको जनाए।

पूर्वाधार अभावको पीडा

स्थानीयवासी कृष्ण घिमिरेलगायतले पुल नहुँदा बर्खायाममा दुई गाउँबीचको आवागमन ठप्प हुने बताए। कतिपय घर र बारी खोलाको वारिपारि भएकाले बर्खामा दैनिक जीवन कष्टकर हुने गरेको उल्लेख छ।

उनका अनुसार हर्कटे–अन्तुडाँडा सडक खण्डमा पुल र बाटो बने तराईका बासिन्दाले समेत यस मार्गलाई छोटो विकल्पको रूपमा प्रयोग गर्न सक्नेछन्।

तर, स्थानीयहरू गुनासो गर्छन्—वर्षौंदेखि पुल र सडक निर्माणका नाममा बजेट आउने चर्चा त चल्छ, तर वास्तविक काम भने अझै सुरु भएको छैन। “हामी भोट मात्रै हाल्ने काम गर्छौं, जितेपछि हाम्रो पीडामा कसैले चासो दिंदैन,” एक स्थानीयले आक्रोश पोखे।

जग्गादान गर्नेहरूलाई सम्मान

कार्यक्रममा धार्मिकस्थलका लागि जग्गा उपलब्ध गराउने तीन जना स्थानीयलाई सम्मान गरिएको थियो। कार्यक्रममा आयोजक समिति अध्यक्ष तिलक राई, नेपाल पत्रकार महासंघ इलाम शाखा अध्यक्ष भीम चापागाईं, सदस्य खेमराज ढकाल, समाजसेवी, अगुवा र विभिन्न क्षेत्रका व्यक्तिहरूको उपस्थिति थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *