भुइँ ऐँसेलुको व्यावसायिक खेती

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

गत वर्ष परीक्षणका रूपमा मात्र भुइँ ऐँसेलु (स्ट्रबेरी) खेती गरेका यहाँका एक कृषकले अहिले व्यावसायिक उत्पादन थालेका छन् ।

गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिका–६, सीमाघाटमा ४५ वर्षीय प्रेम नेपालीले स्ट्रबेरीको व्यावसायिक खेती गर्दै आउनुभएको हो । गत वर्ष परीक्षणका रूपमा स्ट्रबेरी खेती गरेका नेपालीले बजार राम्रो पाएसँगै यस वर्षबाट दुई रोपनीभन्दा बढी क्षेत्रफलमा व्यावसायिक खेती गर्दै आउनुभएको हो ।

फागुनदेखि सुरु गरेर वैशाख अन्तिमसम्म पाक्ने भएकाले फार्मबाट अहिले दैनिक १० किलोभन्दा बढी स्ट्रबेरी दैनिक उत्पादन हुँदै आएको छ । उत्पादित स्ट्रबेरीको मूल्य फार्मबाट पाँच सय र बजारमा लगेर बेच्दा छ सय रुपियाँसम्म पर्ने र तम्घास बजारमै बिक्री हुने उहाँको भनाइ छ । यसबाट राम्रो आम्दानी हुने भएकाले गत वर्षको परीक्षणमा आफू सफल भएपछि क्षेत्रफल बढाएर व्यावसायिक खेती गरेको उहाँले बताउनुभयो । आगामी वर्ष अझै बढाएर लैजाने उहाँको योजना छ । २०७३ देखि १८ रोपनी खेत लिजमा लिएर तरकारी खेती गर्दै आएका नेपालीले राम्रो आम्दानी हुन थालेपछि अहिले १२० रोपनी क्षेत्रफलमा विभिन्न जातका ताजा तरकारी खेती गर्दै आउनुभएको छ ।

फार्मबाट वार्षिक रूपमा सबै खर्च कटाएर करिब १२ लाख जति बचत हुने गरेको उहाँले बताउनुभयो । आफू र परिवार कृषि पेसाबाट सन्तुष्ट रहेको उहाँको भनाइ छ । प्रत्यक्ष रूपमा दैनिक चार जनालाई खान, बस्नसहितको रोजगारी दिएको र अप्रत्यक्ष रूपमा मौसमी कामदार लगाउने गरेको उहाँले बताउनुभयो ।

उत्पादित कृषि उपजको बजारीकरणका लागि कुनै समस्या नभएको र स्थानीय सरकारबाट पनि साथ र सहयोग आउन थालेको उहाँको भनाइ छ ।

नेपालीको फार्ममा हाल २६ वटा टनेल रहेका छन् । उक्त टनेल तथा फार्ममा हाल स्ट्रबेरी, लौका, फर्सी, टमाटर, फूलकोपी, बन्दा, तिते करेला, लौका, काँक्रा, साग, खुर्सानी, आलु, मकै, केराउ, बोडी, सिमी, घिरौँला, फूललगायत मौसमी तथा बेमौसी खेती उत्पादन हुँदै आएको छ । नेपालीले स्ट्रबेरी खेतीसँगै आरएनपी नवोदय बहुउद्देश्यीय कृषि फार्म दर्ता गरेर ताजा तरकारी खेती गर्दै आउनुभएको छ ।  गोरखापत्र बाट

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *