प्रेस सेन्टर नेपाल इलामले २३ औं दिवस विशेष समाजसेवामार्फत् मनाएको छ। इलाम नगरपालिका–९ स्थित राहसल बाल अनाथालयमा आयोजित कार्यक्रममा अनाथालयमा आश्रित १५ जना बालबालिकालाई दैनिक उपभोग्य खाद्य सामग्री वितरण गरिएको हो।

सामाजिक उत्तरदायित्व निर्वाह गर्दै गरिएको उक्त कार्यक्रममा नेकपा माओवादी केन्द्रका प्रदेशसभा सदस्य प्रभास शर्मा, प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य राम योङहाङ, प्रेस सेन्टर नेपाल इलामका अध्यक्ष नमिन ढकाल, निवर्तमान अध्यक्ष तथा नेपाल पत्रकार महासंघ प्रदेश सदस्य बुद्धमाया सोङ्मी, साथै एकीकृत अखिल नेपाल शिक्षक संगठन इलामका अध्यक्ष उमाकान्त भट्टराईलगायतको उपस्थिति रहेको थियो।
कार्यक्रममा सहभागीहरूले बालबालिकालाई खाद्यान्न सामग्री हस्तान्तरण गर्दै पत्रकार कृष्ण सेनको योगदान स्मरण गरेका थिए।
जनपक्षीय पत्रकारिताका प्रतीक कृष्ण सेन ‘इच्छुक’को जन्म २०१३ साल कार्तिक ३ गते यामबहादुर सेन र भिमकुमारी सेनको कोखबाट भएको थियो। उनी जनआन्दोलनको क्रममा सक्रिय रहँदै गर्दा तत्कालीन शासकीय व्यवस्थाले २०५९ साल जेठ ६ गते उनलाई गिरफ्तार गरेको थियो।
‘जनादेश साप्ताहिक’ का सम्पादक रहेका सेनलाई महेन्द्र पुलिस क्लबको हिरासतमा राखी गरिएको अमानवीय यातनाका कारण २०५९ जेठ १३ गते उनको निधन भएको थियो। उनको स्मृतिमा प्रत्येक वर्ष विभिन्न कार्यक्रमहरू आयोजना हुँदै आएका छन्।