करिब ३० वर्षअघि भारतको मुम्बईमा नेपाली महिलालाई बेचबिखन गरेको आरोपमा फरार रहेका एक व्यक्ति अखिर पक्राउ परेका छन्।
मानव बेचबिखन तथा ओसारपसार अनुसन्धान ब्युरोका अनुसार पक्राउ पर्ने व्यक्ति सिन्धुपाल्चोक जिल्लाको हाल पाँचपोखरी थाङपाल गाउँपालिका–७, खोङ्गेका ५७ वर्षीय चमार तामाङ उर्फ चमारे तामाङ हुन्। उनलाई बिहीबार ब्युरोको टोलीले घरमैबाट पक्राउ गरेको हो।
प्रवक्ता प्रहरी उपरीक्षक नरेन्द्र कुँवरका अनुसार तामाङले २०४४ साल पुस १९ गते एक नेपाली महिलालाई काठमाडौंबाट दिल्ली हुँदै मुम्बई पुर्याएर जबर्जस्ती कोठीमा बिक्री गरेका थिए। पीडित महिलालाई मुम्बईस्थित कोठी नम्बर ७ मा, त्यहाँकी नेपाली सञ्चालिका रिता तामाङलाई रु. ८० हजारमा बेचेको जनाइएको छ।
उक्त महिला घटनाका बेला चाबहिलस्थित गलैंचा कारखानामा कार्यरत थिइन्। तामाङले ‘हङकङ गएर सुनको व्यापार गरौं, यस्तो कामले टिबी लाग्छ’ भन्दै प्रलोभन देखाएर उनलाई मुम्बई पुर्याएका थिए।
कोठीमा पु¥याइएपछि पीडितलाई करिब सात वर्षसम्म वेश्यावृत्तिमा संलग्न गराइएको थियो। त्यसैबीच उनलाई टिबी रोग लागेपछि साहुनीले २०५१ साल माघमा नेपाल फर्काइन्। त्यसपछि पीडितले २०५२ साल फागुन १ गते सिन्धुपाल्चोक प्रहरी कार्यालयमा जाहेरी दिएकी थिइन्।
घटनाको अनुसन्धान क्रमशः जिल्ला प्रहरी परिसर काठमाडौं हुँदै २०७७ असोज ६ गते मानव बेचबिखन ब्युरोमा पुगेको थियो। लामो समयदेखि फरार रहेका तामाङलाई अन्ततः प्रहरीले पक्राउ गरी काठमाडौं जिल्ला अदालतबाट सात दिनको म्याद लिएर अनुसन्धान सुरु गरेको छ।