पूर्वप्रधानमन्त्री तथा नेसपा (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले कम्युनिस्ट नेताहरू श्रमिकका हकहितको कुरा गरेर सत्तामा पुग्ने तर सत्ता पुगेपछि तिनै श्रमिकका अधिकार बेवास्ता गर्ने गरेको आरोप लगाएका छन्।
बिहीबार राजधानीमा नेपाल समाजवादी ट्रेड युनियन महासङ्घ र नेपाल समाजवादी नेवा सङ्घले संयुक्त रूपमा आयोजना गरेको १३६औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो टिप्पणी गरेका हुन्।
डा. भट्टराईले शारीरिक र बौद्धिक दुवै प्रकारका श्रमिकहरूको श्रमलाई उच्च सम्मान गर्नु पर्नेमा जोड दिंदै, “८ घण्टा काम, ८ घण्टा आराम र ८ घण्टा मनोरञ्जन” को नारा व्यवहारमा कार्यान्वयन हुन नसकेको बताए। उनले बिचौलिया र कमिसनखोरहरूको बिगबिगीले श्रमजीवी वर्गको जीवन झन् जटिल बनाएको धारणा राखे।
उनले मजदुरहरूको संघर्षबाट प्राप्त संघीय लोकतान्त्रिक व्यवस्था भए पनि श्रमिकका समस्या समाधान नहुनु विडम्बनापूर्ण भएको बताए। “श्री ५ गयो, तर अहिले सत्तामा पुगेका नेताहरूको कार्यशैली श्री ३ को जस्तै देखिएको छ,” भट्टराईले भने।
राजनीतिक स्थायित्व र आर्थिक समृद्धिका लागि प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको व्यवस्था र पूर्ण समानुपातिक संसद् आवश्यक रहेको उनले बताए। साथै, परम्परागत दलहरूले मजदुर र आमजनताको समस्या समाधान गर्न नसकेको भन्दै आफूले ‘अग्रगामी र वैकल्पिक एजेन्डा’ सहित नयाँ शक्ति अघि बढाएको स्पष्ट पारे।
भारत भ्रमणको सन्दर्भमा उनले दुई देशबीचको सम्बन्ध सुमधुर बनाउने प्रयास गरेको बताए। साथै, राजावादीहरूले फैलाएको भ्रममा नपर्न आग्रह गर्दै जनतामा राजनीतिक नेताप्रति असन्तुष्टि भए पनि व्यवस्थाप्रति विश्वास कायम रहेको बताए।
कार्यक्रममा नेसपा नयाँ शक्तिका केन्द्रीय सदस्य तथा नेपाल समाजवादी ट्रेड युनियन महासङ्घका अध्यक्ष विष्णु पौडेलले सरकारले निर्धारण गरेको न्यूनतम पारिश्रमिक १७ हजार ५ सय रुपैयाँ श्रमिकको जीवनयापनका लागि अपुग भएको भन्दै त्यसमा पुनरावलोकन गर्न सरकारसँग माग गरे।
त्यसैगरी, नेसपा सचिव भावना तामाङ, विज्ञ परिषद्का सदस्य अनुप सिंह सुवाल, महासङ्घका इन्चार्ज तेजुलाल कर्ण लगायतले पनि भौतिक तथा बौद्धिक श्रमिकहरूको श्रमलाई सम्मान गरिनुपर्नेमा जोड दिए।