इलाम, असार १८ —
नेपालटार–मङ्गलवारे सडकको मर्मतमा गुणस्तरहीन काम भएको भन्दै स्थानीय बासिन्दाले विरोध जनाएका छन्। बर्खामा सडक हिलाम्मे भएपछि सुरु गरिएको ग्राभेल कार्यमा माटो मिसाइएको भन्दै स्थानीयले काम अवरुद्ध गरेका हुन्।
स्थानीयको आरोप छ— निर्माण कार्यमा प्रयोग गरिएका सामग्री अस्वीकृत छन् र मर्मतको नाममा काम देखाएर बजेट सक्ने प्रयास भइरहेको छ। उनीहरूले जनप्रतिनिधिको उपस्थितिमा समेत गुणस्तरीय सामाग्री प्रयोग नभएकोप्रति आक्रोश व्यक्त गरेका छन्।
देउमाई नगरपालिका–३ निवासी विमल खम्बुका अनुसार बिग्रिएको सडकमा माटो हालेर झारा टार्ने काम भइरहेको छ। “सुरु मै राम्रो सामग्री प्रयोग गरिनुपर्ने हो, तर माटो हालेपछि हामीले काम रोक्न बाध्य भयौं,” उनले भने।
यसै सन्दर्भमा वडा अध्यक्ष पदमबहादुर कटुवालले भने, “स्थानीय क्षेत्रमा गुणस्तरीय ग्राभेल सहजै उपलब्ध छैन। प्रयोग गरिएको सामग्री एकदमै नराम्रो पनि होइन।” उनले बजेट कुन निकायबाट आएको भन्ने जानकारी नभएको पनि स्पष्ट गरे।
यस सडकको अवस्था कालोपत्रेपछि फेरि बिग्रिएर दयनीय बनेको छ। डिभिजन सडक कार्यालयमार्फत कालोपत्रे गरिए पनि यो सडक सडक बोर्डको सूचीमा नरहेकोले नियमित मर्मत नहुँदा समस्या थपिएको हो। इलामको देउमाई नगरपालिका, माङसेबुङ गाउँपालिका र फाकफोकथुम गाउँपालिकालाई जोड्ने यो मार्ग छोटो दूरी भए पनि प्रयोग गर्न कठिन बनेको छ।
पर्याप्त छैन बजेट, अनिश्चित छ निर्माण
सडक डिभिजन कार्यालय इलामका प्रमुख पवन भट्टराईका अनुसार नेपालटार–मङ्गलवारे सडकको मर्मत र पुनः कालोपत्रे गर्न करिब १५ करोड रुपैयाँ आवश्यक पर्नेछ। पानी जम्ने स्थानहरूमा ढलानसहितको सुधार पनि सो बजेटमा समेटिएको छ। तर, संघीय सरकारबाट १ करोड ५० लाख र कोसी प्रदेश सरकारबाट २ करोड मात्र बजेट विनियोजन भएकाले काम अघि बढ्ने सुनिश्चित छैन।
स्थानीय तहले अधिकार क्षेत्र बाहिर भए पनि सामान्य मर्मत गर्दै सडक आवागमनलाई सहज बनाउने प्रयास गरिरहेको छ। देउमाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरि दाहालले भने, “स्थानीयले हेर्ने सरकार स्थानीय नै भएकाले, व्यवहारिक रूपमा केही काम गर्नु पर्यो। अधिकार नभए पनि जनताको हितमा अलिअलि पहल गरिएको हो।”