इलाम — हरेक वर्ष जुन २३ मा मनाइने अन्तर्राष्ट्रिय एकल महिला दिवस यस वर्ष इलाममा पनि विविध कार्यक्रमसहित मनाइएको छ। दिवसको १५ औं वार्षिक अवसरमा एकल महिलाका अधिकार, सुरक्षासम्बन्धी विषयमा केन्द्रित अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको थियो।
कार्यक्रमको संयोजन ‘मानव अधिकारका लागि महिला’, ‘एकल महिला समूह’ र ‘महिला मानव अधिकार रक्षक सञ्जाल’को संयुक्त पहलमा गरिएको हो। सन् २०१० देखि संयुक्त राष्ट्रसंघको मान्यता अनुसार यो दिवस विश्वभर मनाउन थालिएको हो।
कार्यक्रममा इलामका स्थानीय तहहरूलाई एकल महिलाको समग्र विकास, आर्थिक सशक्तीकरण र गरिमामय जीवन सुनिश्चित गर्न महिला सुरक्षा कोष स्थापना गर्न आग्रह गरियो
कार्यक्रममा दीपा आचार्य ढकालले कार्यपत्र प्रस्तुत गरेकी थिइन्। उनले पछिल्लो जनगणनाको आँकडा प्रस्तुत गर्दै नेपालमा हाल ८ लाख २६ हजार १४७ विधवा (एकल) महिलाहरू रहेका जानकारी दिइन्। यति ठूलो संख्यामा एकल महिला हुँदाहुँदै पनि नेपाल सरकारले कुनै पनि तहमा तिनका लागि कोटाको व्यवस्था नगरेको भन्दै सहभागीहरूले गुनासो व्यक्त गरेका थिए।
कार्यक्रम एकल महिला समूह इलामकी अध्यक्ष सुसिला शाक्यको अध्यक्षता तथा इलाम नगरपालिका–७ का वडाध्यक्ष नरेश श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो।