इलामको फाकफोकथुम गाउँपालिका-३ सल्लेरीकी १९ वर्षीया विमला कट्टेल १५ दिनदेखि बेपत्ता भएपछि उनको शव गाडिएको अवस्थामा फेला परेको छ।
जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक मानबहादुर राईका अनुसार विमलाको शव फाकफोकथुम-२ धार्ने खोप (दाहाल गोलाई) भन्ने स्थानमा भेटिएको हो। प्रहरीले शव उत्खनन गर्ने कार्य जारी राखेको छ।
प्रहरीका अनुसार विमला कट्टेल इलामको देउमाई नगरपालिका, जितपुर माइतीघर भएकी हुन्। उनी चैत १ गतेदेखि बेपत्ता थिइन्। हराएपछि उनका ससुरा कृष्णलाल गिरीले बुहारी हराएको भन्दै प्रहरीमा उजुरी दिएका थिए।
यस घटनामा विमलाका श्रीमान् उमेश गिरी संलग्न रहेको आशंका गरिएको छ। प्रहरीले उनलाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।