जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल देशमा स्थानीय तथा पश्चिमी वायुको प्रभाव रहेको जनाएको छ।
महाशाखाका अनुसार हाल बागमती प्रदेशको काठमाडौं उपत्यकासहित कोशी, मधेस र लुम्बिनी प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ।
आज दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थान तथा लुम्बिनी प्रदेशसहित बाँकी पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै, कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।
त्यस्तै, आज राति कोशी प्रदेशका थोरै स्थान तथा मधेश प्रदेश लगायत बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ।
महाशाखाले मेघगर्जन, चट्याङ, वर्षा र हिमपातका कारण कृषि, दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने भएकाले सबैलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।