झापा, अर्जुनधारा नगरपालिका–१ स्थित हलुवागढ सामुदायिक वनभित्र एक महिलाको सडेको अवस्थामा रहेको शव फेला परेको छ।
सोमबार दिउँसो १२ बजेतिर घाँस काट्न गएका स्थानीय बासिन्दाले आँपखोल्सी भन्ने स्थानमा कपाल र हाडखोर मात्र बाँकी रहेको अवस्थामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।
सूचना पाएलगत्तै प्रहरी चौकी शनिश्चरेमार्फत घटनास्थलमा पुगेको टोलीले शवको प्रारम्भिक अनुसन्धान गरेको थियो। इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी प्रकाश विष्टका अनुसार मृतक इलामको रोङ गाउँपालिका–२ बर्फल्याङकी ६२ वर्षीया सीतादेवी खड्का हुन्।
मानसिक रूपमा अस्वस्थ रहँदै आएकी खड्का गत माघ २८ गतेदेखि घरबाट हराएकी थिइन्। उनका परिवारले यसअघि पनि प्रहरीले हराएको बारेमा निवेदन दिएका थिए।
शवको पहिचान कपडाको आधारमा मृतककी छोरीले गरेकी थिइन्। उनले नै शव बुझेर लगेको डीएसपी विष्टले जानकारी दिए।