मनसुनको न्यून चापीय रेखा तराई आसपास रहँदा आगामी एक दिनसम्म देशभर मनसुन सक्रिय रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज दिउँसो देशभर आकाश पूर्णतया बदली रहनेछ।
देशका धेरै स्थानमा सामान्यदेखि मध्यम वर्षा हुने सम्भावना छ भने मधेस प्रदेशसँगै कोशी, वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका केही भागमा भारी वर्षा हुन सक्ने अनुमान गरिएको छ। साथै, एक–दुई स्थानमा मुसलधारे वर्षा हुने सम्भावना पनि छ। कर्णाली प्रदेशका एक–दुई स्थानमा समेत भारी वर्षाको पूर्वानुमान गरिएको छ।
आज राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा आकाश पूर्णतया बदली रहनेछ भने अन्य क्षेत्रमा आंशिकदेखि सामान्य बदली हुनेछ। गण्डकी र कर्णालीका पहाडी भूभाग, लुम्बिनी र सुदूरपश्चिमका पहाडी तथा तराईका धेरै स्थानमा मध्यम वर्षा हुने सम्भावना छ। सुदूरपश्चिमका पहाडी र तराईका केही स्थानमा अत्यधिक वर्षा हुनसक्ने चेतावनी दिइएको छ। साथै, लुम्बिनीको तराई, गण्डकी र कर्णालीका पहाडी क्षेत्रमा एक–दुई स्थानमा भारी वर्षा हुने अनुमान छ।