आर्मीको जितसँगै झापा महिला गोल्डकपको सेमिफाइनल समीकरण पूरा

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

 

रोसन काफ्ले

प्रथम झापा महिला गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ ।

विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबले आजको अन्तिम क्वार्टरफाइनलमा आरएस पोखरालाई एकतर्फी नतिजामा पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।

शिवसताक्षी नगरपालिकाको दुधे रंगशालामा आज सम्पन्न खेलमा आर्मीले पोखरालाई ६–० गोल अन्तरले पराजित गरेको छ ।

खेलको सुरुआती चरणमा पोखराले केही दबाब सिर्जना गरेपनि खेलको नियन्त्रण भने आर्मीले नै लियो । १५औं मिनेटमा मैदानको मध्यभागमा आर्मीकी पूर्व राष्ट्रिय खेलाडी दीपा राईमाथि फाउल भएपछि आर्मीले फ्री–किक प्राप्त गरेको थियो । त्यसलाई राष्ट्रिय टिमकी डिफेन्डर बिमला बिकेले प्रहार गरेकी थिइन्, जसलाई जेनिफर राना मगरले गोलमा परिणत गर्दै आर्मीलाई सुरुवाती अग्रता दिलाइन् ।

२५औं मिनेटमा तुलसा बोहोराको पासलाई बिमला चौधरीले एज बक्सबाट गरेको लेफ्ट फुट प्रहार गोलबार नजिकैबाट बाहिरियो । ३३औं मिनेटमा हिमा चौधरीको क्रस पासलाई बिमला चौधरीले हेडिङमार्फत् गोल गर्दै अग्रतालाई दोब्बर बनाइन् । पहिलो हाफको इन्जुरी समयमा बिमला बिकेले ओभरल्यापिङ रनमार्फत सुन्दर गोल गर्दै आर्मीलाई ३–० को आरामदायी अग्रता दिलाइन् ।

दोस्रो हाफमा पोखराले केही प्रहार गरे पनि आर्मीकी गोलरक्षक कोपिला खड्काले सबै बचाइन् । ८४औं मिनेटमा बिमला चौधरीले पुनः हेडिङ गोल गर्दै अग्रतालाई ४–० बनाइन् । ८९औं मिनेटमा सर्मिला थापा मगरले डी–बक्स बाहिरबाट गरेको प्रहारले जाली चुम्यो ।

इन्जुरी समयमा बिमला चौधरीले फेरि हेडिङमार्फत गोल गर्दै ह्याट्रिक पूरा गरिन् । अन्ततः आर्मीले ६–० को फराकिलो जित निकाल्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।

भोलि हुने पहिलो सेमिफाइनलमा विभागीय टोली नेपाल पुलिस क्लब र ए–डिभिजन क्लब संकटा फुटबल क्लब आमनेसामने हुनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *