साउने सङ्क्रान्ति : दक्षिणायन सुरु हुने दिन, लुतो फाल्ने परम्परा

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

साउन १ गतेको दिन साउने सङ्क्रान्तिको रुपमा देशभर विशेष पर्वको रुपमा मनाइन्छ । सूर्यले मिथुन राशिको भ्रमण पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने यो दिनलाई ज्योतिष शास्त्रमा अत्यन्तै महत्वपूर्ण मानिन्छ । यसै दिनदेखि सूर्यको दक्षिण गमन सुरु हुने भएकाले यसलाई दक्षिणायनको आरम्भ पनि भनिन्छ ।

परम्परागत रूपमा, असार महिनाभर खेतीपातीमा व्यस्त रहने कृषकहरू साउन १ गते विश्राम लिएर आफन्तसहित भेटघाट र रमाइलो गर्छन् । श्रमको थकान हटाउन तथा छालासम्बन्धी रोगको निवारण गर्न लुतो फाल्ने परम्परा समेत यो दिनसँग जोडिएको छ । धर्मशास्त्रविद् प्रा.डा. देवमणि भट्टराईका अनुसार, वर्षा र हिलोमैलोले हुने छालाका रोग हटाउन लुतेझार, कागभलायो, पानी अमला, नासपाती, अम्बा आदि वनस्पतिको प्रयोग गरी ‘कण्डारक’ नामक राक्षसको पूजा गरिन्छ र अगुल्टो फालिन्छ ।

विभिन्न जातीय र सामाजिक परम्पराअनुसार यस दिन नाङ्लो ठटाउने, ढोका बन्द गर्ने, शंख फुक्ने र घण्टा बजाउने चलन पनि रहेको छ । यसैदिनदेखि शिवभक्तिहरूको प्रिय महिना साउन सुरु हुन्छ । विशेष गरी महिलाहरू हरियो चुरा, रातो हरियो पहिरनमा सजिएर शिवमन्दिरहरूमा पूजा गर्न जान्छन् ।

साउन महिना प्रकृतिसँग आत्मीयता जोड्ने पर्वको रूपमा पनि लिइन्छ । यही कारण महिलाहरू हरियो चुरा, हरियो कपडा र पहिरनलाई प्राथमिकता दिन्छन् । यो समयमा बजारमा हरियो सामग्रीको बिक्री समेत उल्लेखनीय रूपमा बढ्ने गर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *