गोपाल गिरी
इलाम, मंसिर १३ ।
इलाम नगरपालिका–९ भञ्ज्याङ गोलाईस्थित मेचिराजमार्गमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ।
झापाबाट इलामतर्फ आउँदै गरेको ट (प्रदेश १–०१–००१ ख ४१०१) नम्बरको ट्रक र विपरीत दिशाबाट जाँदै गरेको स्कुटर (प्रदेश १–०१–०१२ प ४८९९) एकआपसमा ठोक्किँदा स्कुटरमा सवार दुईजना गम्भीर घाइते भएका थिए।
सो दुर्घटनामा इलाम नगरपालिका–९ गोलबस्तीका २६ वर्षीय डेविट थापा मगर तथा माईजोगमाई गाउँपालिका–१ नयाँबजारका १८ वर्षीय छेवाङ शेर्पा गम्भीर घाइते भएका थिए।
घाइते दुवै जनालाई तत्काल उपचारका लागि जिल्ला अस्पताल इलाममा पुर्याइए पनि उपचारकै क्रममा १५:४५ बजे चिकित्सकले दुबैलाई मृत घोषणा गरेका हुन्। मृतकहरु निजी विद्यालयका शिक्षक रहेको छन् । यतिबेला अस्पतालमा मृतकहरुका आफन्तजन ,विद्यार्थी तथा शुभेच्छुकहरुको भीड लागेको छ।
दुर्घटनामा संलग्न ट्रक चालक इलाम नगरपालिका–५ बिब्ल्याटे निवासी २५ वर्षीय राम प्रसाद श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ।