✍ गोपाल गिरी
इलाम । शरद ऋतुले छोएको रमाइलो मौसम अनि घर ,आगन जताततै सयपत्री र मखमलीको सुवास दशै सकिए लगत्तै प्रकृतिले यसरी नै अर्को ठूलो पर्व तिहार आगमनको संकेत गर्दछ । तिहार नजिकै आउदै गर्दा गुन्जिने तिहार सम्वन्धीको गीतले त तिहार पर्वको रौनक लाई झन धेरै बढाउने गर्दछ ।
अहिले सम्म पनि तिहार पर्वमा झन्डै तीन दशक अगाडिकै नेपाली फिल्मको गीतले एकछत्र राज गर्नु अर्को रोचक पाटो हो । प्रत्येक वर्षको तिहारमा गुन्जने नेपाली फिल्मका सदावहार गीतहरु केही यस्ता छन् जो तिहारको पर्याय वनेको छ ।
१. अधरमा आज उनकै छ गीत : २०४५सालमा निर्मित तुलसी घिमिरे निर्देशित चलचित्र ‘अन्याय’मा यो तिहारसम्बन्धी गीत समावेश गरिएको छ । यस गीतमा रत्नशमशेर थापाको शब्द, रञ्जित गजमेरको संगीत र मनिला सोताङको स्वर छ । तिहारको माहौल तताउन यो गीत अझैसम्म पनि रेडियो टेलिभिजनका साथै अन्य सांगीतिक कार्यक्रममा बजिरहेकै छ ।
२. दियो बाली साँझको : प्रत्येक वर्षको तिहारमा नेपालीको घर घरमा गुन्जने तिहार सम्वन्धीको सदावहार गीतहरुको सूचिमा पर्ने यो गीत विगत तीस वर्ष भन्दा समय देखि सुनिदै आएको यो गीत नेपाली फिल्म चिनोमा समाविष्ट छ ।
भारतीय विख्यात गायिका आशा भोस्लेको स्वरमा रहेको यो गीतको रचना कुसुम गजमेरले गरेकी थिईन भने संगीत रणजीत गजमेरको रहेको छ। तुल्सी घिमिरे द्वारा निर्मित यस चलचित्रको सबै गीत लोकप्रिय छन तर तिहारको रौनक बढाउन यो आज पनि उतिकै अव्वल रहेको छ ।
३. तिहारै आयो लौ झिलिमिली : २०५० सालमा प्रदर्शनमा आएको चलचित्र ‘स्वर्ग’मा समावेश गीत हो यो । शम्भु प्रधानको निर्देशन रहेको यो चलचित्रको गीत यादव खरेलले लेखेका हुन् भने शम्भूजीत बाँस्कोटाको संगीत रहेको गीतमा लोचन भट्टराई र नूतन प्रधानको स्वर छ
सार्वजनिक भएको २८ वर्षसम्म पनि यो गीत उत्तिकै ताजा लाग्छ । हरेक वर्ष तिहारमा सर्वाधिक घन्किनेमा पर्ने यो सदावहार गीत तिहारको पर्याय नै बनेको छ ।
४. निधारमा लर्काएर सप्तरङ्गी टिका : चलचित्र ‘विजय पराजय’को यो गीत राजेन्द्र शलभले निर्देशन गरेको यो चलचित्रको यस गीतमा दिनेश अधिकारीको शब्द, शम्भूजीत बास्कोटाको संगीत र बलिउड गायिका हेम लताको स्वर छ । यस गीतमा तिहारको समग्र भन्दा पनि भाईटीकाको महत्त्व लाई दर्शाउदै दाजु र बहिनीबीचको मायालाई गीतमा प्रस्तुत गरिएको छ ।
२०४७ सालमा प्रदर्शनमा आएको चलचित्रको यो गीत आजसम्म पनि उत्तिकै लोकप्रिय छ । यी त्यस्ता गीतहरु हुन जसले तिहार हाम्रो घर आगनमा आएको महसुस गराउछन् भने तिहार सम्वन्धिका जतिसुकै नयाँ गीत आए पनि यी गीतहरुको वर्चस्व छदैछ ।