इलाम । विपद् संकटग्रस्त जिल्ला इलाममा ११ दिनपछि मेची राजमार्गको वैकल्पिक मार्ग खुलेको छ। असोज १८ गतेको ठूलो वर्षापछि इलाम–झापा जोड्ने राजदुवाली खण्डमा पहिरो जाँदा सडक अवरुद्ध भएको थियो।
तत्काल मार्ग खुल्ने सम्भावना नभएपछि इलाम नगरपालिका–१०, गोदकको सिमलगोला हुँदै माइबेनीको जोगमाई खोला पार गरेर तिल्केनीसम्मको वैकल्पिक १२ किलोमिटर लामो सडक सञ्चालनमा आएको हो। जोगमाई खोलामा अस्थायी डाइभर्सन बनाएपछि अहिले साना सवारी साधन सञ्चालन भइरहेका छन्।
सडक डिभिजनका प्रमुख पवन भट्टराईका अनुसार डाइभर्सनले ठूला गाडी पनि थेग्ने क्षमता राखे पनि केही कमजोर स्थानमा सुधार आवश्यक छ। जिल्ला प्रशासनले हाल साना गाडी मात्र चलाउने अनुमति दिएको छ।
राजमार्ग अवरुद्ध हुँदा इलाम र वरपरका क्षेत्रमा इन्धन र ग्यासको अभाव बढेको थियो। वैकल्पिक बाटो खुलेपछि ढुवानी केही सहज भएको इलाम उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण पौडेलले बताएका छन्।
तर, स्थानीयहरूका अनुसार यो अस्थायी समाधान मात्र भएकाले स्थायी पुल निर्माण र बलियो सडक संरचना तत्काल आवश्यक छ। गत बाढीपहिरोले इलाममा ३९ जनाको मृत्यु, १ बेपत्ता र सयौं घर क्षति पुर्याएको थियो।
इलाम, पाँचथर र ताप्लेजुङबासीका लागि वैकल्पिक बाटो खुलेपछि केही राहत मिलेको छ, तर दीर्घकालीन समाधानका लागि स्थायी पूर्वाधार निर्माणको माग तीव्र बनेको छ।