पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

पूर्वसभामुख कृष्णबहादुर महरालाई केन्द्रीय अनुसन्धान ब्यूरो (CIB) ले आइतबार पक्राउ गरेको छ।

२०७९ साल पुस १० गते फ्लाई दुबईको FZ0587 उडानमार्फत काठमाडौं आएका चिनियाँ नागरिक लि हानसुङले दुईवटा सुटकेसमा ल्याएको सामानमा सुन तस्करी भएको भन्दै अनुसन्धान सुरु गरिएको थियो।

भन्सार चेकजाँचका क्रममा ती सुटकेसभित्र रहेका ७३ वटा प्याकेटमा ७३० थान “भेप” भेटिएका थिए। पछि ती भेपभित्र सुन लुकाइएर ल्याइएको खुलेको थियो। बरामद सुनको मूल्य करिब ८ करोड ५५ लाख रुपैयाँभन्दा बढी रहेको जनाइएको छ।

अनुसन्धानका क्रममा विमानस्थल भन्सारका नासु रेवन्त खड्का लगायतका व्यक्तिहरूको मिलेमतोमा उक्त सुन बेचिएको पाइएको थियो। सोही प्रकरणमा महराले भन्सारमा दबाब दिएको आरोप लागेको हो।

यसअघि नै उक्त मुद्दामा उनका छोरा राहुल महरा पक्राउ परेर जेल चलान भइसकेका थिए।

भेप तस्करी प्रकरणमा भन्सारले सीआईबीलाई अनुसन्धान गर्न अनुरोध गरेपछि दुई महिनासम्मको अनुसन्धानबाट करिब ९ किलो सुन तस्करी भएको निष्कर्ष निकालिएको थियो। त्यसपछि खड्का सहित ६ जनाविरुद्ध मुद्दा दायर गरिएको थियो।

पूरक अभियोजनमा चिनियाँ मूलका बेल्जियम नागरिक दावा छिरिङ, उनका चालक लोकेन्द्र पौडेल, राहुल महरा र नीमा गुरुङलाई समेत मतियारको भूमिकामा राखिएको थियो।

अहिले महराको गिरफ्तारीसँगै यो प्रकरणमा तेस्रो अभियोजन हुने भएको छ।

स्रोतका अनुसार, केही दिनअघि सीआईबीले महराको बयान लिएको थियो। अनुसन्धानमा चिनियाँ नागरिक लि हानसुङ र दाओनिज वाङसँग महरा र उनका छोरा राहुलबीच नियमित सम्पर्क र कल रेकर्डको प्रमाण फेला परेको बताइएको छ।

यसअघि पनि सो प्रकरणमा महरा अनुसन्धानको दायरामा परेका थिए, तर राजनीतिक प्रभावका कारण प्रक्रिया अघि बढ्न सकेको थिएन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *