इलाम नगरपालिका–४ स्थित माई टी स्टेटमा “जैविक खेती व्यवस्थापन र सरोकारवाला अन्तरक्रिया” कार्यक्रम आयोजना भएको थियो जहाँ माई टी जैविक चिया कृषक समूहका सदस्यहरूले चिया तथा अन्य कृषि उत्पादनहरूको विपणनमा ठूलो चुनौती भोगिरहेको बताए। किसानहरूले अन्तर्राष्ट्रिय बजारसम्म पहुँचका लागि जैविक प्रमाणीकरण अनिवार्य भएतापनि उत्पादनको उचित मूल्य र बजार पहुँच नपाउने समस्याबारे चासो व्यक्त गरे। इलाम नगरपालिका प्रमुख केदार थापाले यस समस्यालाई सम्बोधन गर्दै किसानहरूलाई प्राविधिक सहयोग र प्रोत्साहन दिने नयाँ कार्यक्रम सुरु गरिने घोषणा गरे। यसै क्रममा सन्दकपुर गाउँपालिका प्रमुख तुलाराम गुरुङले दुई स्थानीय निकायको संयुक्त पहलमा जैविक खेती विस्तार कार्यक्रम लागू गरिने बताए, जसले किसानको आर्थिक भविष्य सुरक्षित हुने उनले बताए। सन्दकपुरका उपप्रमुख हरी कुमार लुङ्गेलीले जैविक खेतीको स्वास्थ्य र पर्यावरणीय महत्त्वमा जोड दिँदै गाउँपालिकाले विशेष नीति निर्माण गर्ने योजना रहेको सूचना दिए। इलाम नगरपालिका प्रवक्ता नुतनदेव दुलालले विदेशी बजारले विषादीरहित उत्पादनको माग बढेको हुँदा परम्परागत कृषिलाई जैविकमा रूपान्तरण गर्ने आवश्यकता रेखांकित गरे। सन्दकपुरका प्रवक्ता रहरकुमार राईले पहुँचवाला किसानलाई मात्र अनुदान दिइँदा साना किसान बञ्चित हुने चिन्ता व्यक्त गरे। कार्यक्रममा रामचन्द्र नेपालले कृषि उत्पादनको न्यायोचित मूल्यांकन नहुनु र दीर्घकालीन नीति निर्माणको आवश्यकतामा जोड दिए। माई टी जैविक कृषक समूहका अध्यक्ष विनोद खतिवडाको अध्यक्षतामा भएको यस कार्यक्रममा इलाम र सन्दकपुरका १०० भन्दा बढी किसान तथा स्थानीय अधिकारीहरूले सहभागिता जनाएका थिए।