✍ रोसन काफ्ले
इलाम– श्रमशक्ति विदेशिन थालेपछि कृषिमा सहज गराउन माइजोगमाई गाउँपालिकाले यान्त्रिकरणलाई प्राथमिकता दिन थालेको छ । खेतबारी खनजोत र चिया टिपाइमा सहज बनाउन किसानलाई सहयोग गर्ने उद्देश्यले गाउँपालिकाले कृषि विकास शाखा अन्र्तगत किसानहरुलाई हाते ट्याक्टर र चिया टिप्ने मेशिन उपलब्ध गराएको हो ।
गाउँपालिकाको कृषक यान्त्रिकरण प्रवद्र्धन कार्यक्रम अन्तर्गत २३ जनालाई हाते ट्याक्टर तथा १७ जनालाई चिया टिप्ने मेसिन वितरण गरिएको छ । यस्तै दश जनालाई ६ एचपी क्षमता भएको र १३ जनालाई ७ एचपी क्षमताको हाते ट्याक्टर उपलब्ध गराइएको कृषि शाखा प्रमुख उषा प्रधानले बताइन ।
एक कार्यक्रम गरि गाउँपालिका अध्यक्ष कुश बहादुर थेवेले र उपाध्यक्ष प्रविना राईले संयुक्त रुपमा किसान, समुह र सहकारीलाई मेशिनहरु प्रदान गरेका थिए । सो अवसरमा अध्यक्ष थेबेले कृषि उत्पादनमा जोड दिन समूह र सहकारी संस्थाहरूले निश्चित क्षेत्र केन्द्रित भएर कार्य गर्नुपर्ने बताए । उनले भने, ‘हाम्रो क्षेत्र र भौगोलिक अवस्था अनुसारको उत्पादनमा लाग्नुपर्छ, आधुनिक कृषि प्रणाली अपनाउँदा त्यसको उत्पादनले गाउँमै आत्म निर्भर बन्न सकिने हुँदा पैसाकै लागि विदेश जानुपर्दैन’ उनले प्राप्त सामग्रीहरूको उचित सदुपयोग गर्न आग्रह गर्दै गाउँपालिकाले कृषिलाई लगानीमा प्राथमिकता राखेको बताए ।
उपाध्यक्ष प्रविना राईले कार्यक्रम कार्यविधिअनुसार सञ्चालन गरिएको जानकारी दिँदै सामाग्रीको सदुपयोगमा जोड दिइन् । अनुगमन हुने भएकाले वितरण सामाग्रीको दुरुपयोग नगर्न उनले आग्रह गरिन् ।
कृषि शाखा प्रमुख प्रधानका अनुसार कोशी प्रदेश सरकारको सशर्त अनुदानमा आधारित उक्त कार्यक्रममा माईजोगमाई गाउँपालिकाका ६ वटै वडाबाट छनौट भएका कृषकहरूलाई सामग्री वितरण गरिएको हो । यान्त्रिकरणका लागि ७५ प्रतिशत लागत पालिकाको बाँकी २५ प्रतिशत कृषकको साझेदारी रहेको छ ।