शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले देशमा अपेक्षित परिवर्तनका लागि पुराना नेतृत्वको अन्त्य आवश्यक रहेको बताएका छन्। उनले दशकौँदेखि सत्तामा रहेर देशलाई गतिरोधमा पुर्याउने नेताहरूले अब नयाँ पुस्तालाई बाटो खोल्नुपर्नेमा जोड दिए। “जीर्ण भइसकेका नेताहरूलाई नहटाइए सम्म वास्तविक रूपान्तरण असम्भव छ,” मन्त्री पुनले स्पष्ट पारे। उनले आसन्न निर्वाचनलाई युवाका लागि सुनौलो अवसरका रूपमा चित्रण गर्दै नयाँ र स्वच्छ विचार भएका प्रतिनिधिहरू छनोट गर्न आग्रह गरे। उनले देशभरका युवाहरूलाई एकजुट भई निर्वाचनमा सक्रिय सहभागिता जनाउन र आफ्नो मतमार्फत स्वच्छ नेतृत्वलाई अगाडि ल्याउन आह्वान गर्दै, “यदि युवाहरूले इमानदार प्रतिनिधि चुने भने देशको भविष्य उज्ज्वल हुनेछ। पुरानै सोच बोकेका नेताहरूबाट अबको पुस्ताले केही पनि पाउन सक्दैन,” भने। मन्त्री पुनका अनुसार, लामो समयदेखिका असफलताहरूले जनतामा निराशा बढाएको भए तापनि देशको भविष्य युवाहरूको हातमा सुरक्षित छ। उनले स्वच्छ विचारका युवाहरूले बहुमतको सरकार बनाउन सकेमा मुलुकको राजनीतिक संस्कारमा नयाँ आयाम आउने दाबी गरे। अन्तमा, उनले जनतालाई सचेत रहन आग्रह गर्दै भने, “विकासका नाममा हुने धोका दिने प्रवृत्तिलाई अब अस्वीकार गरौँ। इमानदार र काम गर्ने नेतृत्वलाई मात्र आफ्नो बहुमूल्य मत दिनुहोस्। यही मार्गबाट देश आत्मनिर्भर र समृद्ध बन्न सक्छ।”