स्वरसम्राट नारायण गोपालद्वारा इच्छित ‘गीत गङ्गा’ भवन निर्माण

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

“म नरहे पनि तिमीले एउटा सङ्गीतसम्बन्धी स्कुल खोल्नु र वसन्त चौधरीलाई त्यसको अध्यक्ष बनाउनु । यसबाहेक नगेन्द्र थापा, विश्वम्भर प्याकुर्‍याल र मेरा साथीहरू पनि त्यसमा समावेश गर्नु । तिमीले केही गर्नुपर्दैन । साथीहरूले सघाउँछन्”, स्वरसम्राट नारायण गोपालले बित्नुअघि अस्पतालको सघन उपचार कक्ष (आइसियू)मा धर्मपत्नी पेमला गुरूवाचार्यलाई दिएको जिम्मेवारीले अहिले पूर्णताः पाएको छ ।

पेमलाले नारायण गोपालको उक्त उद्गारलाई नारायण गोपाल सङ्गीत कोषद्वारा प्रकाशित ‘बागीना’ को स्मृति अङ्कको संस्मरणमा लेखेकी छन् ।

नारायण गोपालको उक्त सुरमय सपना महाराजगञ्जस्थित नवनिर्मित ‘गीत गङ्गा’ भवनले पूरा गरेको छ । यद्यपि, गुरुवाचार्य जीवित छँदा भने यो कार्यले पूर्णता पाउन सकेन ।

महाराजगञ्जस्थित भाटभटेनी सुपरमार्केट नजिक एक रोपनी चार आना जग्गामा निर्मित ‘गीत गङ्गा’ सङ्गीतमय भवनमा रूपान्तरण हुँदै छ ।

यहाँ एक अत्याधुनिक स्टुडियो, विभिन्न सङ्गीतका कक्षाकोठाहरू, नारायण गोपालको सङ्ग्रहालय र एक सङ्गीतसम्बन्धी एफएम रेडियो पनि सञ्चालनको तयारी भइरहेको छ ।

यहाँका दुई भवनमध्ये एउटालाई ‘गीत गङ्गा’ र अर्काेलाई नारायण गोपाल सङ्गीत कोषको कार्यालयका रूपमा निर्माण गरिएको कोषले जनाएको छ ।

काठमाडौँ महानगरपालिकाको तत्कालीन नेतृत्वले गरेको निर्णयबाट उक्त भवन निर्माणार्थ रु पाँच करोड ५० लाख विनियोजन भएपछि विसं २०७७ देखि काम सुरु भएको थियो ।

त्यसबेला कामपा–३ का वडाध्यक्ष दीपक केसी अहिले नारायण गोपाल सङ्गीत कोषको अध्यक्ष भएर स्वरसम्राटको अन्तिम इच्छालाई साकार बनाउने अभियानमा अगुवाइ गर्दै छन् ।

अध्यक्ष केसीले पहिलो कार्यकालमा वडाध्यक्ष हुँदा २०५३ सालमा महाराजगञ्जमा नारायण गोपाल चोक नामकरण गरी उनको शालिक निर्माण गराएका थिए । वि.सं. २०७१ देखि कोषमा जोडिएका केसीले ‘गीत गङ्गा’ भवन नेपालको सबैभन्दा ठुलो ‘फुल अर्केष्ट्रा’ सहितको स्टुडियो निर्माण हुँदै छ ।

“अस्पतालको श्यैयामा रहेका बेला स्वरसम्राटले आफ्नो हात्तिगौँडाको जग्गा बेचेर सङ्गीत विद्यालय खोल्न भनेका थिए,त्यहाँको जग्गा बेच्न नमिलेकाले महाराजगञ्जको जग्गालाई राष्ट्रको सम्पत्ति बनाएका छौँ । ‘गीत गङ्गा’ भवन नयाँ पुस्ताका लागि सङ्गीतको ज्ञान केन्द्र हो”, अध्यक्ष केसीले भने, “हामीलाई महानगरबाहेक अहिले अन्य सरकारबाट कुनै सहयोग प्राप्त भएको छैन । कोषमा रहेको रु ६० लाखको रकमबाट वार्षिक कार्यक्रम र पुरस्कार सञ्चालन गरिरहेका छौँ ।”

यही मङ्सिर १९ गते नारायण गोपालको ३५औँ स्मृति दिवसका अवसरमा कोषको आयोजनामा ‘गीत गङ्गा’ भवनको काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहबाट उद्घाटनका साथै स्रष्टा सम्मान र पुरस्कार वितरण कार्यक्रम हुँदै छ ।

कोषले गायक तथा पूर्वराज्यमन्त्री रामवीर मानन्धर र वरिष्ठ सर्जक बिबी थापालाई सम्मान र जनही रु ५१ हजार राशिको पुरस्कार बालकृष्ण सजीव (रचना), राजु अग्रवाल (सङ्गीत) र दावा ग्याल्मो देवान (गायन) लाई पुरस्कार प्रदान गरिने जनाएको छ ।

सफल एवं ख्यातिप्राप्त आधुनिक नेपाली गायक नारायण गोपाल गुरूवाचार्यको जन्म विसं १९९६ असोज १८ र मृत्यु विसं २०४७ मङ्सिर १९ भएको थियो ।

नेपालको पहिलो पुस्ताका गायक नारायण गोपालका एक सय ३७ गीत रेकर्डिङ भएका छन् । उहाँका ‘बिछोडको पीडा…’, ‘ए कान्छा ठट्टैमा यो वैँश जान लाग्यो…’, ‘जाग, लम्क चम्क हे…’, ‘गल्ती हजार हुन्छन्…’, ‘अल्झेछ क्यारे पछ्यौरी…’, ‘ईश्वर तैँले रचेर फेरि…’, ‘मेरो बेहोसी…’, मुटु माथि ढुङ्गा राखी…’, ‘मलाई छोडी मेरो छायाँ…’, ‘छोपिएर घामको झुल्का…’, ‘पर्खी बसेँ आउला भनीँ…’ लगायत सयौँ लोकप्रिय गीत छन् ।

गीत र सङ्गीत क्षेत्रका स्थापित व्यक्तित्वहरू लक्ष्मीप्रसाद देवकोटा, प्रेमध्वज प्रधान, रत्नशम्शेर थापा, पुष्प नेपाली, बच्चुकैलाश, तारादेवी, अम्बर गुरुङ, नातिकाजी, शिवशङ्कर, चाँदनी शाह, दिनेश अधिकारी, कालीप्रसाद रिजाल, किरण खरेल, शम्भुजीत बाँस्कोटा आदिका सृजनासँग सहकार्य गर्दै नारायण गोपालले नेपाली गीतको आधुनिकतामा विशेष आयाम थपेका हुन् । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *