नजिकीदै गरेको नेपालीहरुको पर्व तीजको अवसर पारेर इलाममा तीज विशेष मेला आयोजना गर्न लागिएको छ ।
इलाम बजार रहेको पुरानो तरकारी बजारमा साउन २८ देखि भदौ १५ मेला गरिने आयोजकले जनाएको छ।
हरितनगर महिला समूहको आयोजना तथा होटल व्यवसायी संघको सहआयोजनामा मेला लाग्ने भएको हो । ईलाममा पत्रकार सम्मेलन गर्दै महिला उद्यमीलाई आय बढाउन सहयोग गर्ने र तीजमा महिला तथा बालबालिकालाई रमाइलो गराउन मेला आयोजना गरिएको जनाएको छ । मेलामा कम्तीमा १० वटा स्टल रहने छन् जसमा महिला उद्यमीले उत्पादन गरेका सामग्री राखिने बताईएको छ।
सुस्ताएको बजार चलायमान गराउन मेलाले सहयोग गर्ने भएकाले मेला आयोजना गरिएको होटल व्यवसायी संघका जिल्ला अध्यक्ष देवी पौडेलले जानकारी दिनु भयो । ‘बजार सुुस्ताएका बेला यस्ता मेलाले आर्थिक रूपमा बजार चलायमान गराउँछन् । त्यही कारणले पनि हामीले इलामको सांस्कृतिक पर्व रोपाइँ जात्रा र तीजलाई मध्यनजर गरेर मेला आयोजना गरेका छौं,’ अध्यक्ष पौडेलले भन्नुभयो ।