भारतको नयाँ दिल्लीमा सम्पन्न एक अन्तर्राष्ट्रिय सम्मान कार्यक्रममा बाँके र बर्दियाका नौ जना नेपाली साहित्यकार तथा कलाकारले सम्मान प्राप्त गरेका छन्। हिन्दी–उर्दू अदबी सङ्गम दिल्लीले आयोजना गरेको “अन्तर्राष्ट्रिय सम्मान तथा कवि सम्मेलन एवम् मुशायरा” कार्यक्रममा विभिन्न देशका साहित्यकार र कलाकारलाई सम्मान गरिएको हो।
कार्यक्रममा अमेरिका, श्रीलंका, मरिसस, नेपाल, पाकिस्तान र बङ्गलादेशका साहित्यकारहरूको सहभागिता रहेको थियो। नेपालतर्फबाट बाँकेका आठ जना साहित्यकार र बर्दियाका एक जना कलाकारलाई सम्मान गरिएको भेरी साहित्य समाज केन्द्रीय समितिका सल्लाहकार डा. हरिप्रसाद तिमिल्सिनाले जानकारी दिनुभयो।
सम्मानित हुनेहरूमा डा. हरिप्रसाद तिमिल्सिना, ईश्वरीप्रसाद रिजाल, डा. राजकुमार थारु, मीना बराल, कल्पना पौडेल, मणि अर्याल, तारा रोकाया, ऋषिराम सापकोटा र खगेन्द्र नेपाल रहेका छन्। साथै भारतीय सांस्कृतिक सहयोग संघका अध्यक्ष शारिक रब्बानी पनि सम्मानित हुनु भएको छ।
सम्मानपत्र संयुक्त रूपमा अमेरिकी समाजसेवी इन्द्रजित शर्मा, राजभाषा आयोगकी सदस्य मनिषा शर्मा, वरिष्ठ शिक्षाविद् प्रोफेसर डा. भरत सिंह र हिन्दी–उर्दू अदबी सङ्गम दिल्लीका अध्यक्ष डा. सैयद अली अकबर नकबीले प्रदान गर्नुभएको थियो।
कार्यक्रममा सहभागी विभिन्न देशका साहित्यकारहरूले साहित्यलाई सीमापारि मानवीय सम्बन्ध जोड्ने सशक्त माध्यमका रूपमा प्रस्तुत गर्नुपर्नेमा जोड दिएका थिए।
भेरी साहित्य समाजको अगुवाइमा भारत भ्रमणमा गएको नेपाली टोलीले आगरा र दिल्लीका साहित्यिक तथा सांस्कृतिक स्थलहरूको पनि अवलोकन गरेको वरिष्ठ उपाध्यक्ष ईश्वरीप्रसाद रिजालले बताउनुभयो।