रोसन काफ्ले
माइजोगमाई । इलामको माइजोगमाई गाउँपालिकाको केन्द्र नयाँबजारमा थुम्के साहित्यिक समूहको अगुवाइमा थुम्के साहित्य महोत्सव आयोजना गरिने भएको छ ।
यहिँ जेठ १५ र १६ गते महोत्सव आयोजना गर्ने भएको हो । ‘साहित्यमा पर्यटन र पर्यटनमा साहित्य’ मूल नारासाथ दुई दिवसीय साहित्य महोत्सव हुन लागेको हो ।
माइजोगमाई गाउँपालिकाको सहयोग, थुम्के साहित्यिक समूहको आयोजना र अमरकल्याण नमुना मावि नयाँबजारको व्यवस्थापनमा कार्यक्रम सञ्चालन हुने आयोजकले जनाएको छ भने महोत्सवमा पत्रकार, साहित्यकारलगायत विभिन्न सर्जकहरुको उपस्थिति रहनेछ ।
कार्यक्रमअनुसार जेठ १५ गते बिहिवार बिहान ७ः३० मा स्थानीय मलुपोखरी भ्रमण गरेपश्चात् १० बजे उद्घाटन गरिने आयोजकले जनाएको छ । सोही दिन १०ः३० देखि दिउँसो २ः३० सम्म विद्यालयस्तरीय कविता प्रतियोगिता, गायन, वाद्यवादन र नृत्य हुनेछ ।
महोत्सवमा मदन पुरस्कार विजेता डा.नवराज लम्सालको पनि उपस्थिति रहने आयोजकले जनाएको छ । २ः३० बजेबाट चियाको विषयमा दृश्य–अदृश्य कथा चिया मजदुर, किसान र उद्यमीसँग नेपाल पत्रकार महासंघ, इलामका अध्यक्ष भीम चापागाईंको संवाद हुनेछ । दिउँसो ३ः३० बाट ४ बजेसम्म कविता प्रतियोगिताको निर्णय र पुरस्कार वितरण हुनेछ ।
साँझ ५ः३० बजेबाट ६ः३० बजेसम्म पर्यटकियस्थल उत्तरे पोखरीमा कविता सिर्जना र प्रस्तुति रहनेछ ।
१६ गते शुक्रबार बिहान ७ बजेबाट ९ सम्म सूर्योदय सिर्जना माइजोगमाईकै पर्यटकीयस्थल थुम्केरानीमा आयोजना गरिनेछ । १० बजेबाट ११ः३० सम्म कला संवाद रहनेछ, जसमा माइजोगमाईको कला, आस्था, अवस्था र सम्भावना विषयमा स्थानीय सरकार र बुद्धिजीवीको संवाद डा.हेम भण्डारीसँग रहने छ ।
११ः३० देखि १२ बजेसम्म सांस्कृतिक नृत्य र वाद्यवादन रहनेछ । १२ बजेबाट १ः३० सम्म पुस्तकवार्ता रहनेछ, जसमा रैथाने सिर्जनाको आकृति नमुना मदर र प्रधानबा कृतिका कृतिकार तथा समीक्षकसँग महेश आचार्यको वार्ता रहनेछ ।
१ः३० देखि २ बजेसम्म पुनः सांस्कृतिक कार्यक्रम रहनेछ । त्यस दिन पनि डा. लम्साल प्रमुख आकर्षण रहनेछन् । दिउँसो २ देखि ३ः३० बजेसम्म उद्योग वाणिज्य संवाद दुग्ध व्यवसाय सम्भावना र चुनौती विषयमा स्थानीय सरकार, व्यवसायी तथा उत्पादकसँग कान्तिपुर दैनिकका उपसम्पादक दीपक सापकोटाको संवाद रहनेछ ।
३ः३० देखि ४ बजेसम्म पुनः सांस्कृतिक कार्यक्रम र ४ बजेदेखि सम्मान कार्यक्रम रहनेछ । ४ः३० देखि समापन कार्यक्रम रहेको थुम्के साहित्यिक समूह अध्यक्ष केशवराज पौडेलले जानकारी दिए ।
माइजोगमाईमा पर्यटनको प्रचुर सम्भावना रहेको र साहित्यमार्फत् पर्यटनको प्रचार गर्ने हेतुले कार्यक्रम आयोजना गरिएको पौडेलले बताए । थुम्के साहित्यिक समूहले हरेक वर्ष विभिन्न कार्यक्रम आयोजना गर्दै आएको छ ।