भोजपुर – भोजपुरमा काठका विभिन्न घरेलु भाँडाकुडा बनाउने परम्परागत ‘चुदारा पेसा’ को अस्तित्व सङ्कटमा परेको छ । नयाँ पुस्ताले पेसाप्रति चासो नदेखाउँदा र बजारमा प्लास्टिक तथा धातुका सामग्रीको प्रयोग बढ्दै जाँदा यो पूर्खौली सीप हराउने अवस्थामा पुगेको हो । पहिले धेरैको सङ्ख्यामा मानिस यो पेसामा आवद्ध रहे पनि अहिले सीमित मानिसले मात्र परम्परा जोगाइरहेका चुदारा पेसामा आवद्ध स्थानीय रत्नबहादुर विश्वकर्माले बताउनुभयो ।
गाउँघरमा पाइने गोगुन, पँयू, दार, मौवा, कटहरजस्ता काठबाट गोलिया तयार गरी फलामको धारिलो हतियार ‘बाँक’ प्रयोग गरेर ठेकी, हर्पे, तोङ्बाको भाँडो, गम्बुलगायतका सामग्री बनाउने चलन अहिले पनि केहीले निरन्तरता दिइरहेका छन् । काठलाई आकार दिन उनीहरूले अझै पनि परम्परागत विधि प्रयोग गर्छन् । खोलाबाट पानी डुँढमा खसालेर काठ घुमाउने र त्यसपछि हातले यन्त्र चलाएर कुद्ने शैली अहिले पनि प्रयोगमा रहेको छ ।
अहिलेसम्म परम्परागत शैलीमा हुँदै आएकाले यसलाई आधुनिक उपकरण प्रयोग गरेर सञ्चालन ल्याउन सके काम गर्न सहज हुने चुदाराको काम गर्दै आएका स्थानीय जङ्गबहादुर विकले बताउनुभयो । उहाँका अनुसार अहिले परम्परागत उपकरणले काम गर्दा धेरै श्रम र समय खर्चिनुपर्ने भएकाले जीविका चलाउनसमेत कठिन भएको छ । पहिले गाईभैँसीको दूध जमाउन, मोही पार्न प्रयोग हुने काठका सामग्री गाउँघरमा अनिवार्य थिए ।
तर अहिले ती वस्तुलाई बजारमा पाइने स्टिल र प्लास्टिकका भाँडाले प्रतिस्थापन गरिरहेको विकको भनाइ छ । उचित संरक्षण, आधुनिक उपकरण र बजार प्रवद्र्धनका उपाय अपनाउन सके यो परम्परागत सीपले सांस्कृतिक पर्यटन र रोजगारीको नयाँ बाटो खोल्न सहयोग पुग्ने यो पेसामा आवद्धहरुको भनाइ छ । रासस