इलाम । इलाममा आर्थिक वर्ष २०८१/०८२ मा एक अर्ब ९४ करोडभन्दा बढी बजेट फ्रिज भएको छ । जिल्लामा संघीय र प्रदेश सरकारबाट प्राप्त भएको पूँजीगत र चालुतर्फको बजेटमध्ये एक अर्ब ९४ करोड पाँच लाख १५ हजार दुई सय ५६ रुपैयाँ फ्रिज भएको हाे । इलाममा संघीय र प्रदेश सरकारको पुँजीगत र चालुतर्फको विनियोजित १२ अर्ब ३८ करोड आठ लाख ८६ हजार दुई सय ८३ मध्ये एक अर्ब ९४ करोड पाँच लाख १५ हजार दुई सय ५६ रुपैयाँ फ्रिज भएको कोष तथा लेखा नियन्त्रक कार्यालय इलामले जनाएको छ ।
सो अवधिमा अघिल्लो आर्थिक वर्ष ०८०/०८१ मा पुँजीगत र चालुतर्फको विनियोजित ११ अर्ब ४३ करोड ८५ लाख ६८ हजार दुई सय ८९ मध्ये एक अर्ब ३३ करोड ५६ लाख ४३ हजार चार सय १९ फ्रिज भएको थियो । कोष तथा लेखा नियन्त्रक कार्यालयका अनुसार संघीय सरकारको चालुतर्फ विनियोजित सात अर्ब ३८ करोड ९३ लाख ११ हजार पाँच सय ६७ मध्ये ५३ करोड १६ लाख २४ हजार तीन सय ६७ फ्रिज भएको छ ।
त्यस्तै, पूँजीगततर्फ विनियोजित तीन अर्ब १६ करोड एक लाख ८६ हजार सात सय ३३ मध्ये ९३ करोड २८ लाख ३१ हजार छ सय ३० रुपैयाँ फ्रिज भएको छ । त्यसैगरी प्रदेश सरकारको चालुतर्फ विनियोजित ८६ करोड ७३ लाख ५३ हजार दुईमध्ये १४ करोड ३७ लाख ७२ हजार सात सय सात फ्रिज भएको छ । त्यस्तै, पूँजीगततर्फ विनियोजित ९६ करोड ४० लाख ३४ हजार नौ सय ८१ मध्ये २२ करोड २२ लाख ८६ हजार पाँच सय ५२ रुपैयाँ फ्रिज भएको प्रमुख कोष लेखा नियन्त्रक राजेन्द्र आचार्यले जानकारी बताए ।