संकटग्रस्त क्षेत्र घोषणा इलाममा विकास र पुर्निनर्माण ठप्प : प्रगति शून्य

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

विपद् संकटग्रस्त घोषणा भएको एक महिनापछि पनि इलाम अझै संकटमै छ। असोज १८ र १९ गते परेको भीषण बाढी–पहिरोले सडक, पुल, खानेपानी, बिजुली र सञ्चारजस्ता आधारभूत संरचनामा व्यापक क्षति पुर्‍याएको थियो। संकटग्रस्त घोषणासँगै राहत र पुनर्निर्माणका ठूलो–ठूला घोषणा भए पनि व्यवहारमा खास प्रगति भएको छैन। जनताले भोगिरहेको दैनिक कठिनाइ र प्रशासनिक ढिलाइले इलामलाई अहिले “पूर्वको कर्णाली” भनेर व्यङ्ग्य गर्न थालेका छन्।

मेची राजमार्गका धेरै खण्ड अझै सञ्चालनमा आउन सकेका छैनन्। माईखोला–राजदुवाली सडक बारम्बार भासिँदा वैकल्पिक सिमल–गोलाई–जोगमाई मार्गमा समेत अवरोध भइरहेको छ। सडक अवरुद्ध हुँदा सदरमुकाम इलाम ‘टापु’झैँ बनेको छ, जहाँ पुग्न वा बाहिर निस्कन कठिन भएको छ। गाउँका किसानले उत्पादन बजार पुर्‍याउन पाएका छैनन् भने व्यापारीहरूले खाद्यान्न र इन्धन ढुवानीमै समस्या भोगिरहेका छन्। सडक ठप्प भएपछि बजारमा सामान महँगो भएको छ, विद्यालय र कार्यालयहरूको गतिविधि पनि प्रभावित बनेका छन्।

केचना–कञ्चनजङ्गा कोरिडोरको भञ्ज्याङ–बेलासे सडकको ठेक्का तोड्ने सूचना सार्वजनिक भइसकेको छ। सो खण्डको पुवा खोलामा गत असारमा राखिएको बेली ब्रिज बाढीले बगाएपछि अहिले पनि अस्थायी वैकल्पिक पुल बनेको छैन। यस्तै, मेची राजमार्गकै मिलगोलाई–विब्ल्याँटे–इलाम खण्ड क्षतविक्षत छ, कालोपत्रे गर्ने काम अधुरो छ, र स्रोत सुनिश्चित नहुँदा मर्मत सुरु गर्न पनि कठिनाइ भएको स्थानीय प्रतिनिधिहरू बताउँछन्।

केंद्र, प्रदेश र स्थानीय तहबीचको समन्वय अभावले पुनर्निर्माणको गति ठप्प छ। राहत वितरणमा ढिलाइ हुँदा बाढी–पहिरोपीडित धेरै परिवार अझै अस्थायी टहरामै बस्न बाध्य छन्। सरकारी निरीक्षण टोलीहरूले ‘अवलोकन’ गरेको हल्ला छ, तर स्थानीयका अनुसार कामको गति शून्य छ। स्थानीय  बिनु घिमिरे भन्छिन्, “घोषणामा कुरा धेरै सुनिन्छ, तर गाउँमा केही हुँदैन। हामीलाई त लाग्छ इलाम अब पूर्वको कर्णाली बनेको छ।”

पहिले विकास र सुन्दरतालाई परिचय बनाएको इलाम अहिले पुनर्निर्माणको सुस्त गतिका कारण चिनिएको छ। सामाजिक सञ्जालमा “पूर्वको कर्णाली” भन्ने टिप्पणीले चर्चा पाएको छ, जसले राज्यको ध्यान नपाउने, योजनामा परे पनि काम नहुने अवस्थाको प्रतीक बोकेको छ। धेरै स्थानीयहरू भन्छन्— राज्यले संकटका बेला मात्रै सम्झन्छ, तर त्यसपछि बिर्सिन्छ।
अब तत्काल सडक र पुल पुनर्निर्माणका लागि रकम बिनियोजन गरी काम अगाडि बढाउनुपर्ने आवश्यकता देखिएको छ। विशेषगरी पुवा खोला, बेलासे र सोक्तिम खण्डमा अस्थायी पुल र यातायात सञ्चालनका प्रयास तत्काल सुरु नगरे इलाम लामो समयसम्म यातायात–अभिशापमा बाँधिन सक्ने चिन्ता बढेको छ।
एक महिनापछि पनि जब सडक चल्दैन, जब बिजुली र खानेपानी पुनःस्थापित हुँदैन, र जब राहतका कामहरू कागजमै सीमित रहन्छन्—अनि त इलामका जनताले भन्न थालेका छन्  “यो पहाडको सुन्दर जिल्ला होइन अब, पूर्वको कर्णाली हो।” जुन उपमा कुनै ईलामे जनताको धैर्यताको बाध टुट्दै गएको प्रस्ट संकेत दिन्छ

One Response

Leave a Reply

Your email address will not be published. Required fields are marked *