पत्रकार एवं लेखक दीपेन्द्र शर्माद्वारा लिखित ‘युद्ध पत्रकारिता’ नामक पुस्तक औपचारिक रूपमा सार्वजनिक गरिएको छ। आज आयोजित लोकार्पण कार्यक्रममा राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले पुस्तक विमोचन गर्दै यसको विषयवस्तुले युद्धकालीन पत्रकारिताको वास्तविकता उजागर गरेको टिप्पणी गरे।
अध्यक्ष दाहालका अनुसार जनयुद्धको चुनौतीपूर्ण समयसन्दर्भलाई पुस्तकले स्पष्ट रूपमा अभिव्यक्त गरेको छ। उनले युद्धकालमा पत्रकारितालाई “अझ कठिन कार्य” भन्दै पुस्तकलाई “युद्धकालको ऐना” जस्तै कृतिको रूपमा व्याख्या गरे।
कार्यक्रममा दाहालले जनयुद्धका वर्षहरू स्मरण गर्दै जाजरकोटमा बिताएका तीन वर्षको अनुभव पनि साझा गरे। “दिल्लीबाट ‘नेपाल आवाज’ निकालिन्थ्यो, जाजरकोटका दुर्गम पहाडमा रेडियो गणतन्त्रको एन्टेना रूख चढेर राखिन्थ्यो,” उनले सम्झिए, “लडाइँ र पढाइको मिश्रण, बारुद र मसीको घोल—त्यसकै आधारमा गणतन्त्र आएको हो भन्नेमा गर्व छ।”
नेपाल पत्रकार महासङ्घका अध्यक्ष निर्मला शर्माले पुस्तकले पत्रकारहरूले युद्धमा व्यहोरेका जोखिम र संघर्षलाई दस्तावेज गर्ने महत्वपूर्ण काम गरेको बताए। उनका अनुसार यो पुस्तक इतिहासलाई जोगाइराख्ने एउटा सशक्त स्रोत हुनेछ।
प्रेस सेन्टर नेपालका संस्थापक अध्यक्ष महेश्वर दाहालले पनि ‘युद्ध पत्रकारिता’ लाई नेपालको राजनीतिक परिवर्तनको संवेदनशील चरणलाई समेट्ने महत्वपूर्ण कृति भने। लेखक शर्माले १४ वर्षको उमेरमै जनयुद्धको अभियानसँग जोडिएको अनुभवलाई पुस्तकमा प्रस्तुत गरेको जानकारी गराए।
समीक्षकहरूको भनाइमा पुस्तक सात अध्यायमा विभाजित छ र मिसन पत्रकारिता, भूमिगत सञ्चार, वैचारिक द्वन्द्व तथा युद्धकालीन विविध गतिविधिको विस्तृत विश्लेषण समेटिएको छ।