विभिन्न समूहमा रहेका १२ वटा पार्टी घटकहरूसँग एकता गरी बनेको नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले आइतबारबाट देशव्यापी सन्देश सभा अभियान थालेको छ । पार्टीकेन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पूर्वपदाधिकारी बैठकले पार्टी एकता र आगामी योजनाबारे स्पष्ट सन्देश प्रवाह गर्ने उद्देश्यले सातै प्रदेशमा सन्देश सभा आयोजना गर्ने निर्णय गरेको हो ।
बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेकपा नेता तथा पूर्वमन्त्री भीम रावलले मङ्सिर ९ देखि २७ गतेसम्म सातै प्रदेशमा क्रमशः कार्यक्रम सञ्चालन गरिने जानकारी दिए । उनका अनुसार प्रदेशस्तरीय सभामा एकतामा आएका सबै घटकका नेता तथा कार्यकर्ता सहभागी हुनेछन् ।
“कुन प्रदेशमा कुन समयमा को को नेता सहभागी हुने भन्ने विस्तृत तालिका बनेको छैन,” नेता रावलले भने, “तर प्राथमिकताका रूपमा तत्काल सन्देश सभा सुरू गरी पार्टी एकताको भावना प्रवाह गर्ने, भावी रणनीति छलफल गर्ने र संगठनात्मक तैयारी मजबुत बनाउने हाम्रो उद्देश्य हो ।”
नेकपाले सन्देश सभा अभियानलाई तीन चरणमा लैजाने तयारी गरेको छ । पहिलो चरणमा सातै प्रदेशमा कार्यक्रम गर्ने, दोस्रो चरणमा ७७ वटै जिल्लामा एकै दिन सन्देश सभा आयोजना गर्ने र अन्तिम चरणमा ७५३ स्थानीय तहमा सभा विस्तार गर्ने योजना रहेको नेकपा नेता मेटमणि चौधरीले बताए ।
चौधरीका अनुसार जिल्ला र स्थानीय तहमा सभा गर्ने मिति भने अझै टुंगिएको छैन । “प्रदेशगत कार्यक्रमपछि केन्द्रिय बैठक बसेर विस्तृत मिति र जिम्मेवारी तोकिन्छ,” उनले भने ।
पार्टी स्रोतका अनुसार सन्देश सभामा एकतापछिको पार्टीको संगठनात्मक संरचना, आगामी निर्वाचन तयारी, नीतिगत कार्यक्रम, जनताको मुद्दाबारे पार्टीको धारणा र भावी राजनीतिक मोडेलबारे छलफल गरिनेछ ।
यस अभियानले कार्यकर्ता परिचालन र संगठनात्मक पुनर्संरचना गर्ने पार्टीको दीर्घकालीन लक्ष्यलाई समेत सघाउने नेकपाको विश्वास छ ।