काेशीबाट छुर्पी निर्यात बढेपछि डिडिसीलाई राहत

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

विराटनगर ।कोशी प्रदेशबाट छुर्पी निर्यातमा बृद्धि भए सँगै  बजार अभावले   दबाब  व्यहोरिरहेको  दुग्ध विकास संस्थान (डिडिसी) लाई राहत पुगेको छ । निजी क्षेत्रका प्रमुख निर्यातकर्ता मनराम हिमालयन ह्यान्डीक्राफ्ट प्रालिले डिडिसीबाट मासिक २५ हजार किलो छेना खरीद गर्न थालेपछि दुवै पक्ष लाभान्वित भएका छन् ।

डिडिसी विराटनगर आयोजनाका निमित्त प्रमुख हिरबहादुर मगरले दुध नबिक्दा पाउडर बनाउनु पर्ने बाध्यता हटेको बताउदै  छेना उत्पादन गरेर सिधै बिक्री गर्न थालेपछि लागत घटेको  जानकारी दिए  ।

मनराम हिमालयनका सञ्चालक राजेन्द्रकुमार श्रेष्ठका अनुसार डिडिसीबाट तयारी छेना पाउँदा दुध सङ्कलन तथा प्रोसेसिङ खर्च बचत भएको छ । झापास्थित उक्त कम्पनीले कोशी प्रदेशमै उत्पादन हुने छुर्पीलाई कुकुरको आहारका रूपमा अमेरिका निर्यात गर्दै आएको छ । सन् २००७ मा ४ किलोबाट सुरु भएको निर्यात आज प्रदेशकै प्रमुख निर्यात व्यवसायमध्ये पुगेको छ ।

उद्योगको दैनिक ६० हजार लिटर प्रशोधन क्षमता भए पनि अहिले करिब २० हजार लिटर दुधबाट छुर्पी उत्पादन भइरहेको छ । झापामा सञ्चालन भएको फार्ममा १६० उन्नत गाई राखिएको छ, जसबाट दैनिक करिब १,००० लिटर दूध उत्पादन हुन्छ ।

छुर्पी निर्यात बढेपछि पूर्वी नेपालमा देखिने मिल्क होलिडे समस्या समाप्तप्रायः भएको व्यवसायीहरूको दाबी छ । ग्रामीण अर्थतन्त्रमा सकारात्मक प्रभाव पुगेको र किसानले दुधको उचित मूल्य पाउन थालेको उद्योगका सञ्चालक श्रेष्ठले बताए ।

पाँच अर्ब रुपैयाँभन्दा बढी कृषिजन्य वस्तु निर्यात गरेर विदेशी मुद्रा आर्जन गर्न योगदान गरेको भन्दै सरकारले मनराम हिमालयन ह्यान्डीक्राफ्टलाई ‘सिआइपी’ सम्मान प्रदान गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *